आज नेकपा सचिवालय बैठक बस्दै
काठमाडौं । नेपालमा कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा महासचिव विष्णु पौडेलले शुक्रबारका लागि सचिवालय बैठक बोलाएका हुन् ।
झन्डै एक महिनादेखिको रस्साकसीपछि नेकपा सचिवालय बैठक आज बस्ने भएको हो ।
नेकपाको विधानमा दुई अध्यक्षको समन्वयमा महासचिवले पार्टी कमिटीका बैठक बोलाउने प्राबधान छ । तर दुई अध्यक्षबीच तत्कालै बैठक बोलाउने या नबोलाउने भन्नेमा विवाद भएपछि गत शनिबार अध्यक्ष दाहालसहित पाँच सचिवालय सदस्यले सचिवालय बैठकका लागि सहमति जनाउन माग गर्दै प्रधानमन्त्री ओलीलाई पत्र बुझाएका थिए ।
त्यतिबेला उनीहरूले दुई दिन समय दिए पनि ओलीले बैठक आह्वान नगरेपछि मंगलबार बसेको बहुमत सचिवालय सदस्यहरूको अनौपचारिक बैठकले थप दुई दिन कुर्ने निर्णय गरेको थियो । ओलीले बिहीबारसम्म बैठक नबोलाए दाहाल आफैंले सचिवालयको औपचारिक बैठक बोलाउने र उक्त बैठकले स्थायी कमिटी बैठककोआह्वान गर्ने तयारीमा थिए ।
ओली शुक्रबार बैठक बोलाउन तयार भएपछि दाहालपक्षीय नेताहरू आफ्ना एजेन्डा बैठकमा राख्ने तयारीमा छन् । त्यसका लागि दाहालले आफूनिकट चार सचिवालय सदस्यहरूसँग बिहीबार छुट्टाछुट्टै परामर्श पनि गरेका छन् ।
