अमेरिकाले टिकटकमा प्रतिबन्ध लगाउने राष्ट्रपति ट्रम्पको घोषणा

वासिङ्टन । अमेरिकाले चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन्स, टिकटकमा प्रतिबन्ध लगाउन सकिने जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सो कुराको जानकारी दिएका हुन् ।
‘हामीले यस विषयमा विचार गरिरहेका छौँ कि अमेरिकाले टिकटकले प्रतिबन्ध लगाउन पनि सक्छ,’ अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन्,‘हामीले यो विषयको तयारी गरेका छौँ, हामीसँग टिकटकका अरू पनि कैयौँ विकल्पहरू हुन सक्छन्, त्यस बारेमा खोजी गरेका छौँ हामीले यसमा प्रतिबन्ध लगाउन सक्छौँ’ उनले पत्रकारहरूलाई शनिबारभित्रै कार्यकारी आदेशमा हस्ताक्षर हुन सक्ने बताए ।
अमेरिकामा कतिपय चिनियाँ एप्लिकेन्सहरूमा प्रतिबन्ध लागेको छ । त्यसैले अमेरिकाले यस टिकटकमा पनि प्रतिबन्ध लगाउनसक्ने तयारी गरेको चर्चा सुरु भएका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो भनाइ आएको हो ।
यसअघि जुलाईको पहिलो सातामा नै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पनि अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने बारेमा सोचिरहेको भनाई राखेका थिए । त्यसको करिब महिना दिनपछि ट्रम्पको यो भनाई आएको प्राप्त समाचारमा जनाइएको छ ।
स्रोतः शिलापत्रबाट