कांग्रेस एक हुन नसक्नु नियतिको कठोर सत्य : डा. शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकताबद्ध राख्ने प्रयास सफल हुन नसकेको बताएका छन्। बिहीबार जारी विज्ञप्तिमार्फत उनले दोष-निर्दोषको बहसमा नलागी यस विषयको वस्तुपरक समीक्षा इतिहासले नै गर्ने उल्लेख गरेका छन्।
डा. कोइरालाले कांग्रेसलाई एकढिक्का बनाएर अगाडि बढाउने इमानदार प्रयास भए पनि पार्टीभित्र देखिएका र नदेखिएका अन्तरविरोध, विभिन्न षडयन्त्र र परिस्थितिका कारण त्यो सम्भव हुन नसकेको बताए। कांग्रेसलाई एकताबद्ध राख्ने हाम्रो प्रयास सफल हुन सकेन। यसको पछाडि को दोषी को निर्दोष भन्ने बहस गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्न म चाहन्न,उनले भनेका छन्।
यस क्रममा आफूले धेरै घटनाको साक्षी बन्नुपरेको र पार्टी अनेकन अन्तरविरोधबाट गुज्रिएको उनको भनाइ छ। उनले यस कठिन घडीमा पार्टीका संस्थापक नेता बीपी कोइरालाको स्मरण गर्नुपर्ने बताउँदै कांग्रेस एकढिक्का भएर अगाडि बढ्न नसक्नु नियतिको कठोर सत्य भएको टिप्पणी गरेका छन्। ‘बीपी कोइराला नियतिमा विश्वास गर्नुहुन्थ्यो। आज कांग्रेस एक भएर अगाडि बढ्न नसक्नुलाई पनि म त्यही नियतिको कठोर सत्यका रूपमा बुझ्छु,’ विज्ञप्तिमा उल्लेख छ।
डा. कोइरालाले आठ दशक लामो कांग्रेस इतिहासको गौरव जोगाउन संगठनात्मक ऊर्जा फेरि एकताबद्ध हुनुपर्नेमा जोड दिए। पार्टीभित्र आवश्यक सुधारका प्रक्रिया जारी रहने उल्लेख गर्दै उनले सबै नेता-कार्यकर्ता र अलग भएका पक्षलाई ‘घर फर्कन, कांग्रेसमा फर्कन आह्वान गरेका छन्।
उनका अनुसार अब कांग्रेससामु आसन्न निर्वाचनमा जाने र पार्टीको ऐतिहासिक विरासत जोगाउने ठूलो जिम्मेवारी छ। हाम्रा अग्रज नेताहरूको मार्गदर्शन र शहीदहरूको बलिदान सम्झिँदै नेपाली जनताको समृद्धिको यात्रामा जनताको घरदैलोमा भोट माग्न जानु परेको छ,उनले भनेका छन्। समय छोटो भए पनि सम्भव भएसम्म आफू स्वयं कांग्रेसको चुनावी अभियान लिएर जनतामाझ पुग्ने प्रयास गर्ने डा. कोइरालाको प्रतिबद्धता छ।
