नेपाली कांग्रेसद्वारा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निष्कासित

तु खबर संवाददाता
२०८२ पुष ३०, बुधबार १६:४३

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टीले पाँच वर्षका लागि निष्कासन गरेको छ। सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई समेत साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको विधान र अनुशासन उल्लंघन गरेको ठहर गर्दै उनीहरूलाई निष्कासन गर्ने निर्णय गरेको हो। बैठकपछि प्रचार प्रसार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिँदै पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरिएको, समानान्तर गतिविधि सञ्चालन गरिएको र कार्यकर्तालाई भड्काउने कार्य भएको निष्कर्षमा बैठक पुगेको बताए।

विश्वकर्माका अनुसार नेपाली कांग्रेसको विधान २०१७ को धारा २२ उपधारा २० तथा धारा ३४ उपधारा ८ अन्तर्गत देहायका खण्ड घ र ङ बमोजिम आजकै मितिदेखि लागू हुने गरी उनीहरूलाई पार्टीबाट निष्कासन गरिएको हो।

पार्टीले नियमित महाधिवेशन पुसमा सम्भव नभएपछि वैशाखमा गर्ने सहमति केन्द्रीय समितिको बैठकबाट भइसकेको थियो। तर महामन्त्रीद्वय थापा र शर्माले उक्त निर्णयमा फरक मत राख्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागलाई आधार मानेर विशेष महाधिवेशन आह्वान गरेका थिए। उनीहरूको आह्वानमा काठमाडौँको भृकुटीमण्डपमा पुस २७ गतेदेखि विशेष महाधिवेशन जारी छ, जहाँ नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सञ्चालन भइरहेको छ।

केन्द्रीय कार्यसमितिको बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्ने अन्य नेताकार्यकर्तालाई पनि आ–आफ्नो भूमिकामा फर्किन आग्रह गरेको छ। पार्टीले मुलुक विषम परिस्थितिमा रहेको र महाधिवेशनको संघारमा पार्टीलाई कमजोर पार्ने गतिविधि अस्वीकार्य भएको स्पष्ट पारेको छ।