कांग्रेस विशेष महाधिवेशन सभापतिमा गगन थापा मात्रै उम्मेदवार
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत मनोनयन दर्ताको समय बुधबार बिहान ११ः१५ बजे सकिएको छ । निर्वाचन समितिका अनुसार सभापति पदका लागि महामन्त्री गगन थापाको मात्र उम्मेदवारी परेको छ ।
निर्वाचन समितिले मनोनयन दर्ताको समय सकिएको जानकारी दिँदै उम्मेदवारहरूको नामावली दिउँसो १ बजे सार्वजनिक गरिने बताएको छ । क-कसले कुन पदमा उम्मेदवारी दिएका छन् भन्ने विवरण औपचारिक नामावलीमार्फत मात्रै सार्वजनिक हुनेछ।
निर्वाचन समिति स्रोतका अनुसार महामन्त्री पदका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै सहमहामन्त्री पदका लागि बहादुरसिंह लामाले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसमा आठ जना सहमहामन्त्री रहने व्यवस्था छ ।
भृकुटीमण्डपमा आइतबारदेखि जारी विशेष महाधिवेशनका क्रममा संस्थापन पक्षसँग सहमतिका लागि गरिएको वार्ता असफल भएपछि गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । बुधबार बिहान थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवासँग सहमतिका लागि छलफल गरेका थिए तर वार्ता सफल हुन सकेन ।
निर्वाचन समितिका अनुसार आजै मतदानको तयारी भइरहेको छ । मतदान हुने पदहरूमा विद्युतीय प्रणालीमार्फत भोटिङ हुने जानकारी पनि समितिले दिएको छ । अन्य सबै पदाधिकारी पदका लागि पनि मनोनयन दर्ता सम्पन्न भइसकेको स्रोतले जनाएको छ
