कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे निर्वाचित
नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध निर्वाचित भएका छन्। सोमबार बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रूपमा नेता चयन गरेको हो।
यसअघि बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेको नाममा सहमति जुटाएपछि संसदीय दलले त्यसलाई अनुमोदन गरेको जानकारी निर्वाचन समितिका संयोजक एवं सहमहामन्त्री प्रकाश रसाइलीले दिएका छन्।
पार्टीभित्र करिब दुई महिनादेखि चलेको आन्तरिक रस्साकस्सी र विवादपछि यो निर्णय सम्भव भएको हो। संसदीय दलको नेताका लागि आङ्देम्बेसँगै अर्जुननरसिंह केसी र मोहन आचार्यले समेत बलियो दाबी प्रस्तुत गर्दै आएका थिए।
नेताहरूबीचको अडानका कारण लामो समयसम्म सहमति जुट्न सकेको थिएन, तर अन्ततः शीर्ष तहमा भएको छलफलपछि अन्य आकांक्षीहरू पछि हटेसँगै आङ्देम्बे निर्विरोध निर्वाचित हुन सफल भएका हुन्।
