राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता
काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज (बुधबार) देशभर उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तय गरिएको छ।
निर्वाचन नजिकिँदै गर्दा पनि प्रमुख राजनीतिक दलहरूबीच सिट भागबन्डाको अन्तिम सहमति भने हुन सकेको छैन। यसअघि नेपाली कांग्रेस र नेकपा एमालेले ७-७ सिट, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ३ सिट र जनता समाजवादी पार्टी (जसपा) नेपालले १ सिट लिने गरी सहमतिको प्रयास भएको बताइएको थियो। तर अन्तिममा चार दलबीच समझदारी हुन नसकेको नेताहरूले बताएका छन्।
एमालेले भागबन्डा अनुसार ७ सिट पाउने अपेक्षासहित अधिकांश उम्मेदवार छनोट गरिसकेको छ। एमालेले कोशी प्रदेशमा महिला सिट पाउने भएपछि रोशनी मेचेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बागमतीमा डा. प्रेमकुमार दङ्गाल, गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने तय भएको छ। मधेश प्रदेशमा भने एमालेले उम्मेदवारको नाम अझै टुंगो लगाएको छैन।
चार दलबीच सहमति हुन नसकेपछि नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव गोबिन्द आचार्यले राष्ट्रियसभामा पनि मतभारअनुसार तालमेलको प्रस्ताव गरे पनि कुरा नमिलेको बताएका छन्। उनका अनुसार सहमति नजुटेमा नेकपाले आफ्नै उम्मेदवारी दिने तयारी गरेको छ।
यदि नेकपा तालमेलबाट बाहिरिए कांग्रेस र एमालेबीच मात्रै सहकार्य हुने सम्भावना रहेको नेताहरूको भनाइ छ। त्यस अवस्थामा कांग्रेसले १० र एमालेले ८ सिट लिने अनुमान गरिएको छ। एमाले नेताहरूका अनुसार यस्तो अवस्थामा कोशी प्रदेशमा एमालेले दुई सिट पाउन सक्ने सम्भावना पनि छ।
राष्ट्रिय सभाका हालका १९ सदस्यमध्ये १८ जनाको कार्यकाल आगामी फागुन २० गते सकिँदै छ। बाँकी एक सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने प्रावधान भएकाले १८ सदस्य चयनका लागि निर्वाचन हुन लागेको हो। निर्वाचन आयोगले यसअघि मतदाता नामावली प्रकाशन तथा अन्तिम सूची सार्वजनिक गरिसकेको छ।
