विशेष महाधिवेशन माग्दै कांग्रेस कार्यालयमा प्रदर्शन

तु खबर संवाददाता
२०८२ पुष २२, मंगलवार १४:४४
file-photo

काठमाडौँ । नेपाली कांग्रेस पार्टी कार्यालय सानेपा बाहिर विशेष महाधिवेशनको माग गर्दै प्रदर्शनरत कार्यकर्ताले नेताहरूलाई कार्यालय प्रवेशमा अवरोध गरेका छन्। प्रदर्शनका क्रममा पार्टीलाई बन्दी बनाउन नहुने भन्दै नाराबाजी गरिएको छ भने केही नेतासँग कार्यकर्ताबीच बाझाबाझ समेत भएको छ।

नेपाली कांग्रेस विधानअनुसार चार वर्षभित्र, अर्थात् २०८२ मंसिरसम्म १५औँ महाधिवेशन हुनुपर्ने व्यवस्था छ। तर पार्टी सभापति शेरबहादुर देउवा पक्ष र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मा पक्षबीच वैचारिक तथा रणनीतिक दूरी बढ्दै गएपछि ‘विशेष महाधिवेशन’ को एजेन्डा सतहमा आएको हो।

आज बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकका लागि पुगेका नेताहरूलाई मुख्य गेटबाट प्रवेश गर्न नदिइएपछि उनीहरू वैकल्पिक गेट प्रयोग गरी कार्यालय भित्र प्रवेश गरेका थिए। बिहान ११ बजेका लागि तय बैठक  अहीले सम्म सुरु हुन सकेको छैन।

बैठक सुरु हुनु अघि नै विशेष महाधिवेशन पक्षधर नेताहरू र केही महाधिवेशन प्रतिनिधि कार्यालय परिसरमा भेला भई नेतृत्वमाथि दबाब दिने तयारीमा थिए। यसबारे जानकारी पाएपछि कार्यालय प्रवेशमा कडाइँ गरिएको विशेष महाधिवेशन पक्षधरहरूको दाबी छ।

पार्टी कार्यालय गेटमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने भित्र बैठक चलिरहँदा बाहिर रहेका केही नेताहरूलाई प्रवेशमा रोक लगाइएको थियो। आफ्नै पार्टी कार्यालयमा प्रवेश नपाएपछि सानेपा परिसर केही समय नाराबाजी र तनावले तातिएको थियो।भित्र पस्न नपाएका नेताहरूले नेतृत्वको कदमलाई अनुदार र निरंकुश चरित्र भन्दै आलोचना गरेका छन्। यस क्रममा उनीहरूले नेता विमलेन्द्र निधिविरुद्ध समेत नाराबाजी गरेका थिए।