विशेष महाधिवेशन रोकीए राजनीतिक दुर्घटना हुन सक्छ : गुरुराज घिमिरे
काठमाडौँ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले विशेष महाधिवेशन रोक्न जबर्जस्ती निर्णय गरिए भविष्यमा उत्पन्न हुनसक्ने राजनीतिक दुर्घटनाको सम्पूर्ण जिम्मेवारी पार्टी नेतृत्वले नै लिनुपर्ने चेतावनी दिएका छन्।
केन्द्रीय कार्यसमितिले पूर्वनिर्धारित तालिका परिवर्तन गर्दै आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरेपछि प्रतिक्रिया दिँदै घिमिरेले पार्टी नेतृत्वले कार्यकर्ताको भावना र मागलाई लगातार बेवास्ता गरेको आरोप लगाए। उनले विशेष महाधिवेशन अब अपरिहार्य र बाध्यकारी भइसकेको स्पष्ट पारेका छन्।शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशनको औचित्य समाप्त भएको भन्दै वैशाख २८ देखि ३१ गतेसम्म नियमित महाधिवेशन गर्ने प्रस्ताव पारित गरेको थियो। तर उक्त निर्णयप्रति असहमति जनाउँदै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित पाँच जना सदस्यहरूले ‘नोट अफ डिसेन्ट’ लेखेका छन्।
विशेष महाधिवेशन पक्षधर नेता घिमिरेले शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै कांग्रेसभित्र हुकुमी शासनको अभ्यास देखिन थालेको टिप्पणी गरेका छन्। विशेष महाधिवेशनको मागलाई सम्बोधन नगरी पार्टी नेतृत्व अघि बढ्न सक्दैन। जबरजस्ती गरे भविष्यमा उत्पन्न हुनसक्ने राजनीतिक दुर्घटनाका लागि नेतृत्व स्वयं जिम्मेवार हुनेछ, उनले लेखेका छन्।कांग्रेसले ७५ वर्षअघि हुकुमी शासनको अन्त्य गरेको स्मरण गराउँदै घिमिरेले अहिले पार्टीभित्रै त्यस्तै प्रवृत्ति झल्किन थालेको आरोप लगाए। नेता सरह वा त्यसभन्दा बढी योगदान गरेका कार्यकर्तालाई रैती सरह व्यवहार गर्ने, पार्टीलाई निजी जमिन्दारीझैं सञ्चालन गर्ने प्रवृत्ति सर्वथा निन्दनीय भएको उनको भनाइ छ।
उनले महाधिवेशनको कागजी कार्यतालिका समेत न्यूनतम रूपमा लागू नगर्ने, स्वेच्छाचारी रूपमा समय सार्ने र पार्टी सदस्यलाई अग्रिम सूचना नदिने अभ्यासलाई अलोकतान्त्रिक तथा तानाशाहीपूर्ण भनेका छन्।पार्टी विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन बोलाउन सक्ने व्यवस्था रहेको उल्लेख गर्दै घिमिरेले १४औँ महाधिवेशनका ५४ प्रतिशत प्रतिनिधिहरू विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरिसकेको स्मरण गराएका छन्। त्यसलाई बेवास्ता गर्नु विधानको खुला उल्लङ्घन र पार्टी सदस्यहरूमाथिको चरम दुर्व्यवहार भएको उनको आरोप छ।
वर्तमान चुनौतीपूर्ण राजनीतिक परिस्थितिमा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न विशेष महाधिवेशनको मागलाई सकारात्मक रूपमा सम्बोधन गर्न उनले नेतृत्वलाई आग्रह गरेका छन्। नेपाली कांग्रेस आठ दशकदेखि विधिको शासन र लोकतन्त्रका लागि संघर्ष गरेको पुरानो पार्टी भएकाले यसको राजनीतिक शाख, प्रतिष्ठा र जनाधार अरू दलभन्दा फरक र व्यापक रहेको हेक्का नेतृत्वले राख्नुपर्ने पनि उनले बताएका छन्।धारणा व्यक्त गर्दै घिमिरेले संस्कृत श्लोक उद्धृत गर्दै विधि र नियम त्यागेर स्वेच्छाचारितामा चल्नेले सफलता, सुख र उच्च गन्तव्य प्राप्त गर्न नसक्ने सन्देश दिएका छन्।


