देशलाई संकटबाट निकासतर्फ लैजान ठोस योजना आवश्यक : खनाल

तु खबर संवाददाता
२०८२ पुष १७, बिहीबार ११:०१

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले नयाँ वर्ष २०२६ लाई राष्ट्रिय एकता, परिवर्तन, सुदृढीकरण र रूपान्तरणको वर्षका रूपमा अघि बढाउन आह्वान गरेका छन् । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले देश र प्रवासमा रहेका सम्पूर्ण नेपालीहरूमा शान्ति, राष्ट्रिय एकता, स्वाधीनता, समझदारी, प्रगति र समृद्धिको कामना व्यक्त गरेका हुन् ।

खनालले विश्वव्यापी रूपमा तीव्र परिवर्तन र उथलपुथलको प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै पुरानो विश्व व्यवस्था विघटन हुँदै नयाँ न्यायसंगत र समानतामूलक विश्व व्यवस्थाले आकार लिँदै गएको बताए । यस परिवर्तनको प्रभाव नेपालमा पनि प्रत्यक्ष रूपमा परेको उनको भनाइ छ ।

उनले देशमा दीर्घकालदेखि कायम दिशाहीनता, अविकास, कुशासन, भ्रष्टाचार, बेरोजगारी र युवाको बहिर्गमनका कारण सामाजिक-आर्थिक संकट गहिरिँदै गएको उल्लेख गरे । त्यस्तै, “जेन्जी आन्दोलन”का नाममा गत भदौ २४ गते देशव्यापी रूपमा भएका तोडफोड, आगजनी र लुटपाटले मुलुकलाई गम्भीर संकटतर्फ धकेलेको खनालको दाबी छ ।

वर्तमान परिस्थितिमा नयाँ सरकार गठन भई प्रतिनिधिसभा निर्वाचनको घोषणा भए पनि शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि आवश्यक पूर्वाधार अझै कमजोर रहेको उनले बताए । निर्वाचनसँगै संविधान परिमार्जन, सामाजिक-आर्थिक संरचनामा परिवर्तन, शिक्षा र स्वास्थ्यमा रूपान्तरण, राष्ट्रियता सुदृढीकरण, परराष्ट्र नीति सुधार, सुशासन स्थापना, भ्रष्टाचार नियन्त्रण तथा युवाका लागि रोजगारी सिर्जनाजस्ता विषयहरू तत्काल समाधान गर्नुपर्ने खनालको जोड छ ।

उनले यी विषयमा स्पष्ट योजना सहित सम्पन्न हुने निर्वाचनले मात्र देशलाई संकटबाट निकासतर्फ लैजाने र समाजवादतर्फ अघि बढ्ने मार्ग खोल्ने बताए । त्यसका लागि सबै कम्युनिष्ट, वामपन्थी, प्रगतिशील, देशभक्त तथा लोकतन्त्रप्रेमी शक्तिहरूबीच राष्ट्रिय एकता अपरिहार्य रहेको उनले उल्लेख गरे ।

यही उद्देश्यका साथ सत्रवटा वाम समूहलाई एकताबद्ध गरी नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको जानकारी दिँदै खनालले चार आधारभूत सिद्धान्तका आधारमा कार्यगत एकता र वाममोर्चा निर्माणमा पार्टी दृढ रहेको बताए ।

देश बहुआयामिक संकटबाट गुज्रिरहेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्ति र तिनका देशभित्रका दलालहरूले नेपाललाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र गरिरहेको आरोप लगाए । विदेशी पैसा र प्रलोभनका आधारमा जनतामाझ दुष्प्रचार फैलाइँदै मुलुकलाई हिंसा र विध्वंसतर्फ लैजाने प्रयास भइरहेको उनको भनाइ छ ।

अन्त्यमा खनालले विद्यमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीरता बुझ्दै समाजवादप्रतिको नेपाली जनताको आकांक्षालाई साकार पार्न सबै प्रगतिशील शक्तिहरूलाई एकताबद्ध हुन आग्रह गर्दै नयाँ वर्ष २०२६ लाई परिवर्तन र रूपान्तरणको वर्ष बनाउने संकल्प गर्न आह्वान गरेका छन् ।