राष्ट्रिय एकता र मेलमिलापको विकल्प छैन : शेखर कोइराला

तु खबर संवाददाता
२०८२ पुष १६, बुधबार १०:११
file-photo

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार हुँदै राष्ट्रिय एकता तथा मेलमिलापको नीति अवलम्बन गरी स्वदेश फर्किएको स्मरणमा आज राष्ट्रिय मेलमिलाप दिवस मनाइँदैछ।

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले शुभकामना सन्देश जारी गर्दै राष्ट्रिय एकता र मेलमिलापले मात्र देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वतन्त्रताको रक्षा गर्न सक्ने बताएका छन्। उनका अनुसार यो विषय आज कांग्रेसको मात्र नभई सम्पूर्ण नेपालीको साझा सरोकारको विषय हो।शेखर कोइरालाले सन्देशमा भनेका छन्, “लोकतान्त्रिक आन्दोलनका हाम्रा श्रद्धेय नेता बिपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरू आजकै दिन ‘राष्ट्रिय मेलमिलाप’को सन्देश दिएर आठ वर्षको प्रवास जीवन त्यागी नेपाल फर्कनुभएको थियो। त्यस समयमा विश्वमा देखिएको महाशक्ति राष्ट्रहरूको द्वन्द्व र खिचातानीबीच नेपालजस्तो सानो र संवेदनशील भूराजनीतिक अवस्थाको देशको राष्ट्रियता र स्वतन्त्रता जोगाउन राष्ट्रिय एकता र मेलमिलापको विकल्प नभएको बिपीको सन्देश थियो।”

उनले पाँच दशकपछि पुनः विश्व राजनीति महाशक्ति राष्ट्रहरूको दबाब र स्वार्थतर्फ उन्मुख हुँदै गएको उल्लेख गर्दै यस परिस्थितिमा बिपी कोइरालाको विचारलाई मन, बचन र कर्मले पुनः आत्मसात् गर्न आवश्यक रहेको बताएका छन्।विसं २०३३ पुस १६ गते बिपी कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेतृ शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेता तथा कार्यकर्ताहरू राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गर्दै स्वदेश फर्किएका थिए। त्यतिबेला बिपीमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा विचाराधीन अवस्थामा थिए।

भारतको निर्वासनकालमा सिक्किम भारतमा विलय भएको घटनालाई नजिकबाट अवलोकन गरेका बिपी कोइरालालगायत नेताहरूले नेपालको राष्ट्रियता, स्वतन्त्रता र अखण्डताको रक्षा गर्न राष्ट्रिय एकता तथा मेलमिलाप अपरिहार्य ठानेका थिए।यसअघि विसं २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रको शाही ‘कु’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो। त्यसपछि फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास क्षेत्रलाई पर्खालले घेरी बन्दीगृह बनाई उनलाई त्यहाँ सारिएको थियो।

आठ वर्षपछि विसं २०२५ सालमा उपचारका लागि बिपी कोइरालालाई रिहा गरियो। उपचारका क्रममा भारत पुगेका उनले त्यहाँबाट निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक गतिविधि सुरु गरेका थिए।नेता शेखर कोइरालाका अनुसार आजको बदलिँदो राजनीतिक र भूराजनीतिक परिस्थितिमा सत्ता राजनीतिभन्दा माथि उठेर सम्पूर्ण नेपालीहरू जागरूक, सतर्क र ऐक्यबद्ध हुनुपर्ने आवश्यकता छ, यही नै राष्ट्रिय मेलमिलाप दिवसको मूल सन्देश हो।