एमाले र कांग्रेसबाहेक अरूले सरकार बनाउन सक्दैनन् : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीबीच बनेको राजनीतिक सहकार्यप्रति कडा व्यंग्य गरेका छन्। उनले कमजोर शक्तिहरूको मोर्चाबन्दीले बलियो राजनीतिक शक्तिसँग प्रतिस्पर्धा गर्न नसक्ने टिप्पणी गरेका हुन्।
मंगलबार काठमाडौँमा मदन-आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘एमालेको ११औँ महाधिवेशनको सन्देश र राजनीतिक निकास विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, कुखुरा, बाख्रा र स्यालले मोर्चा बनाएर बाघको सिकार हुँदैन। विशालकाय एमालेसँग भिड्न सकिन्छ भन्ने भ्रम पालेर मोर्चाबन्दी गर्नुको अर्थ छैन।
रास्वपाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको र ऊर्जा मन्त्री कुलमान घिसिङ पनि सो सहकार्यमा जोडिएको प्रसंग उल्लेख गर्दै ओलीले कटाक्ष गरे। अध्यक्ष अर्कै, उपाध्यक्ष अर्कै, अनि प्रधानमन्त्री अर्कै-यसो गरेर सरकार कसरी बन्छ? भन्दै उनले चुनावअघि नै प्रधानमन्त्री घोषणा गर्नु हास्यास्पद भएको बताए।
ओलीले लोकप्रियता र अलोकप्रियताबारे सिर्जना गरिएका भाष्यहरूको जवाफ एमालेको ११औँ महाधिवेशनले दिइसकेको दाबी गरे। देशमा को लोकप्रिय छ भन्ने फैसला अन्ततः निर्वाचनले गर्छ, उनले भने, घरघरबाट प्रधानमन्त्री घोषणा गरिसकेका छन्, हामी भने चुनाव पर्खिरहेका छौँ-फागुन २१ मा, वैशाखमा वा अर्को मंसिरमा।
कांग्रेसप्रति तुलनात्मक रूपमा नरम टिप्पणी गर्दै ओलीले एमाले र कांग्रेसबाहेक अरू कसैले सरकार बनाउन नसक्ने दाबी पनि गरे। एमाले मात्र होइन, कांग्रेस पनि छ। कांग्रेस छेउमा नआएसम्म ठीकै हुन्छ, छेउमा आएपछि गाह्रो पार्छ, उनले भने।
अध्यक्ष ओलीले लोकतन्त्र अजेय रहेको उल्लेख गर्दै आगामी निर्वाचनबाट राष्ट्रिय फैसला हुने स्पष्ट पारे। दुब्लाको काम नै एकता गर्ने हो, बलियासँग प्रतिस्पर्धा गर्न, उनले भने, तर घैँटामा बोकेको पानीले महासागरसँग प्रतिस्पर्धा गर्न सक्दैन।
एमाले आगामी चुनावका लागि पूर्ण रूपमा तयार रहेको दाबी गर्दै ओलीले अन्तिम निर्णय जनताले मतबाट गर्ने र त्यसमा एमालेको जित सुनिश्चित हुने जिकिर गरे।
