डिजिटल हस्ताक्षर नमानिँदा कांग्रेसको समानुपातिक बन्दसूची बुझाउन ढिलाइ
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फको उम्मेदवार बन्दसूची ढिलोगरी निर्वाचन आयोगमा बुझाएको छ। पार्टी सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले मान्यता नदिएपछि बन्दसूची पेस गर्न ढिलाइ भएको हो।
निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको सूची बुझाउन समय दिएको थियो। तर कांग्रेससहित ठूला दलहरूले तोकिएको समयभित्र सूची बुझाउन सकेका थिएनन्। मंगलबार बिहानसम्म पनि कांग्रेसले बन्दसूची पेस गर्न नसकेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले स्वीकार गरेका थिए।
प्राविधिक समस्या समाधान गर्न कांग्रेसका नेता तथा पदाधिकारीहरू मंगलबार बिहानै निर्वाचन आयोग पुगेका थिए। तर सभापति देउवाको हस्ताक्षर नभएको भन्दै आयोगका कर्मचारीहरूले सूची लिन अस्वीकार गरेपछि मुख्य सचिव पौडेल र प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा हस्ताक्षर गराउन महाराजगञ्जस्थित देउवा निवास पुगेका थिए। देउवाको हस्ताक्षरपछि मात्रै सूची आयोगमा बुझाइएको हो।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिबाट पारित सूची प्राविधिक पक्ष मिलाउनुपर्ने भएकाले ढिलाइ भएको हो। आयोगले शुल्क तिरेर भौचर काटिसकेकाले मंगलबार बिहान पनि बन्दसूची बुझाउन सकिने स्पष्ट पारेको थियो।
कांग्रेसले यसपटक समानुपातिक सूचीमा नयाँ अनुहारलाई प्राथमिकता दिएको जनाएको छ। २०६४ यताका समानुपातिकबाट सांसद बनेका कसैलाई पनि सूचीमा नराखिएको पार्टीको दाबी छ। सूचीमा पाँच प्रतिशतभन्दा बढी जेन-जी पुस्ताको प्रतिनिधित्व रहेको र संस्थापन पक्ष ६० तथा इतर पक्ष ४० प्रतिशतको भागबन्डामा उम्मेदवार छनोट गरिएको कांग्रेसले जनाएको छ।
समानुपातिकतर्फका ११० सिटलाई प्रादेशिक जनसंख्याको अनुपातमा बाँडिएको छ। जसअनुसार कोसीबाट १८, मधेश २१, बागमती २२, गण्डकी ११, लुम्बिनी १७, कर्णाली १० र सुदूरपश्चिमबाट १० जनाको नाम सूचीमा समेटिएको छ। सूचीमा सहमहामन्त्री भीष्मराज आङदेम्बे र नेता अर्जुननरसिंह केसीसमेत परेका छन्।
पार्टीका तल्ला तहबाट मापदण्डभन्दा बढी उम्मेदवार सिफारिस हुँदा नाम टुंग्याउन सकस परेको र उम्मेदवारको विस्तृत विवरण तथा सम्पत्ति विवरण संकलन गर्न समय लागेकाले पनि ढिलाइ भएको कांग्रेस नेताहरूले बताएका छन्।
