एमाले अध्यक्षमा ओली तेस्रोपटक निर्वाचित, महासचिवमा पोखरेल विजयी
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । औपचारिक घोषणा हुन बाँकी रहे पनि मतदान परिणामअनुसार पोखरेलले १२२८ मत प्राप्त गर्दै प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई पराजित गरेका हुन् । पाण्डेले ९९९ मत पाएका छन् ।
यसैगरी, पार्टी अध्यक्षमा केपी शर्मा ओली तेस्रोपटक निर्वाचित भएका छन् । अध्यक्ष पदमा ओलीले १६६३ मत ल्याउँदा उनका प्रतिस्पर्धी ईश्वर पोखरेल ५६४ मतमा सीमित भए । दुईबीचको मतान्तर १०९९ रहेको छ ।
नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा अध्यक्ष र महासचिव दुवै पदमा स्पष्ट मतान्तर देखिएको छ । महाधिवेशनमार्फत एमालेले नयाँ नेतृत्व पाएको छ भने औपचारिक घोषणा प्रक्रिया बाँकी रहेको जनाइएको छ ।
