एमाले महाधिवेशनको मतगणना सुरु, सबै नतिजा एकैसाथ सार्वजनिक हुने

तु खबर संवाददाता
२०८२ पुष ३, बिहीबार १०:२७

काठमाडौँ । नेकपा (एमाले)को ११औँ महाधिवेशन अन्तर्गत सम्पन्न मतदानको मतगणना प्रक्रिया सुरु भएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार ८० वटै भोटिङ मेसिनबाट चिप्स संकलन गर्ने काम पूरा भएसँगै मतगणना अघि बढाइएको हो।

एमाले केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले मेसिनबाट चिप्स निकाल्ने काम सकिएपछि मतगणना सुरु गरिएको जानकारी दिएका छन। आयोगका अनुसार आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गरी प्रत्येक चिप्सको तथ्यांक निकालेर एकीकृत गरिनेछ। सबै चिप्सको विवरण जोडेर सबै पदको नतिजा एकैपटक सार्वजनिक गर्ने तयारी गरिएको छ।बिहीबार बिहान सवा ७ बजे मतदान सकिएपछि मुचुल्का तथा प्रतिनिधिहरूको सहमतिपछि करिब १० बजेतिर मतगणना सुरु गरिएको हो। आयोगले करिब साढे दुईदेखि तीन घण्टाभित्र सम्पूर्ण नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाका अनुसार मतगणना सकिएपछि सर्वपक्षीय बैठक बसेर औपचारिक रूपमा नतिजा सुनाइनेछ।

महाधिवेशन अन्तर्गत बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान बिहीबार बिहान ७ बजे सम्पन्न भएको थियो। कुल २ हजार २ सय ६३ मतदातामध्ये २ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिले मतदान गरेका थिए भने ३६ जना अनुपस्थित रहेका थिए।

अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा छ। त्यस्तै, महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डेबीच कडा प्रतिस्पर्धा रहेको छ। पाँच जना उपाध्यक्षका लागि अरूण नेपाल, गुरूप्रसाद बराल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरुङ, पृथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा बादल, डा. विन्दा पाण्डे र विष्णु पौडेल उम्मेदवार छन्।जारी महाधिवेशनबाट एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव, नौ सचिव र ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन हुने छ। आयोगका अनुसार १९ जना पदाधिकारी र केन्द्रीय कमिटी सदस्य सबैको नतिजा एकैचोटि सार्वजनिक गरिनेछ।

मेसिन लक गरी कोड नम्बरका आधारमा चिप्स सिल गरिएको र सेन्टर कलेक्सनपछि सर्वपक्षीय सहमतिमा मात्रै नतिजा सार्वजनिक गरिने एमालेले जनाएको छ।