एक दिन ढिलापछि एमाले महाधिवेशनको मतदान सुरु
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ। अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेलले पहिलो मतदान गर्दै औपचारिक रूपमा निर्वाचन प्रक्रिया अगाडि बढाएका हुन्।निर्वाचन कार्यतालिकाअनुसार मंगलबार नै मतदान हुनुपर्ने भए पनि प्राविधिक र व्यवस्थापकीय कारण देखाउँदै एक दिनपछि सारिएको थियो। मंगलबार साँझ ७ बजे मतदान स्थगित गरिएपछि बुधबार बिहानबाट मतदान सुरु गरिएको हो। बिहान ८ बजेदेखि मतदान गर्ने तयारी भए पनि केही ढिलाइपछि प्रक्रिया अघि बढाइएको छ।
काठमाडौँको भृकुटीमण्डपमा जारी महाधिवेशनमा मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको छ। भृकुटीमण्डपको मुख्य हल बुधबारका लागि अन्य कार्यक्रमले बुक भइसकेकाले एमालेले बन्द सत्र सञ्चालन भएको स्थानमै मतदान गर्ने व्यवस्था मिलाएको छ। मतदानस्थल परिवर्तन गरिएसँगै प्रतिनिधिहरू बिहानैदेखि लाइनमा बसेर आफ्नो पालो कुर्दै मतदानमा सहभागी भइरहेका छन्।एमालेको जारी महाधिवेशनका लागि २ हजार २६२ जना प्रतिनिधि छनोट भएर आएका छन् भने कुल २ हजार २६३ प्रतिनिधि मतदान प्रक्रियामा सहभागी हुने जनाइएको छ। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन जडान गरिएको छ, जुन रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको हो। एक जना मतदातालाई मतदान गर्न औसतमा ३५ देखि ४० मिनेट समय लाग्ने अनुमान गरिएको छ।
यस महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल दुवै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्। यद्यपि केही केन्द्रीय सदस्य तथा आयोगका पदाधिकारी र सदस्यहरू भने निर्विरोध निर्वाचित भइसकेका छन्।मतदान सकिएलगत्तै मतगणना सुरु गरिने एमालेले जनाएको छ। शनिबारदेखि सुरु भएको ११औँ महाधिवेशन निर्णायक चरणमा प्रवेश गरेसँगै पार्टीको भावी नेतृत्व कसको हातमा जाने भन्ने चासो उच्च बनेको छ।
