एमाले महाधिवेशनमा मतदान ढिलाइ, भृकुटीमण्डपमा उम्मेदवार मतमाग्न व्यस्त
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि हुने मतदान प्राविधिक कारणले ढिलाइ हुने भएको छ। मतदान स्थल भृकुटीमण्डपमा मतदान सुरु हुनुअघि उम्मेदवारहरू र तिनका समर्थकहरू बिहानैदेखि मतमाग्न सक्रिय देखिएका छन्।पूर्वनिर्धारित समयभन्दा मतदान ढिलो हुने भएपछि उम्मेदवारहरूले प्रचार-प्रसारका लागि थप समय पाएका छन्। कतिपय उम्मेदवार आफ्ना समर्थकसहित हुल बाँधेर भोट माग्दै हिँडिरहेका छन् भने कतिपय शान्त तरिकाले मतदातासँग भोट मागिरहेका छन्।
पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार मतदानको सम्पूर्ण तयारी भइरहेको छ। यद्यपि उम्मेदवारहरूको अन्तिम नामावली ढिलो प्राप्त भएकाले विद्युतीय भोटिङ मेसिनमा फोटोसहितको विवरण इन्ट्री गर्न समय लागेको छ। प्राविधिकका अनुसार भोटिङ मेसिनको कोडिङ तथा सूचीकृत गर्न अपराह्न ४ बजेसम्म लाग्ने भएकाले मतदान त्यसपछि मात्रै सुरु हुने सम्भावना छ।यसअघि निर्वाचन कार्यक्रम संशोधन गर्दै मतदानको समय बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म तोकिएको थियो। तर प्राविधिक तयारी पूरा गर्न समय लाग्ने भएपछि सो समयमा मतदान सुरु नहुने निश्चित भएको छ। केन्द्रीय निर्वाचन आयोगले मध्याह्न १२ बजेदेखि ६ बजेसम्म मतदानको समय तोके पनि व्यवहारमा मतदान ढिलाइ हुने देखिएको छ।
महाधिवेशन स्थल वरपर, विशेषगरी प्रदर्शनी मार्ग क्षेत्रमा एमाले कार्यकर्ताको ठूलो भिड देखिएपछि प्रहरीले सो सडक बन्द गराएको छ। यसपटक महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदैछ। एक जना मतदाताले सबै पदका लागि मतदान गर्न कम्तीमा ३५ देखि ४० मिनेट लाग्ने अनुमान गरिएको छ।कुल ३०१ केन्द्रीय सदस्य, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोग गरी ३५१ पदका लागि निर्वाचन हुँदैछ। महाधिवेशनमा भूगोल, गैरभूगोल, आयोजक, विभाग, निकाय र मनोनीत गरी कूल २ हजार २६२ प्रतिनिधि सहभागी छन्। मतदानमा कुल २ हजार २६३ जना प्रतिनिधिले भोट हाल्नेछन्।
यस आधारमा मतदान बुधबार मध्याह्नसम्म लम्बिन सक्ने र नतिजा भने मध्याह्नपछि मात्रै आउने एक नेताले बताएका छन्। अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ। महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे उम्मेदवार छन्।एमालेको नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन् भने प्यानलमा नपरेकाहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
