एमाले अध्यक्ष ओली आज सम्पादकहरूसँग अन्तरक्रिया गर्दै

तु खबर संवाददाता
२०८२ मंसिर २५, बिहीबार १०:३९

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बिहीबार प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया गर्ने भएका छन्। प्रेस चौतारी नेपालको आयोजनामा दिउँसो १ बजे कोटेश्वरस्थित पार्टी प्यालेसमा हुने कार्यक्रममा ओलीले आगामी महाधिवेशन, नेतृत्व चयन र पार्टी रणनीतिसम्बन्धी धारणा प्रस्तुत गर्ने तयारी गरेका छन्।

प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेका अनुसार महाधिवेशनसहितका विषयमा खुला अन्तर्क्रियाका लागि अध्यक्ष ओलीलाई निम्त्याइएको हो। महाधिवेशन नजिकिँदै गर्दा ओली-पोखरेल समूहबीच आ-आफ्नो प्रभाव विस्तार गर्ने प्रयास बलियो बन्दै गएको छ। संस्थापन पक्षले प्रेस चौतारीको ब्यानरमा नेताहरूसँग संवाद गरिरहेको छ भने वरिष्ठ उपाध्यक्ष एवं अध्यक्षका प्रत्यासी ईश्वर पोखरेल समूहले पनि छुट्टै व्यानरमा सम्पादकहरूसँग अन्तरक्रिया गर्दै आएको छ।

पोखरेलले बुधबार सम्पादकहरूसँग भेटवार्ता गरिसकेका छन्। आज ओली स्वयंलाई प्रस्तुत गर्दै आगामी कार्यकाल, नेतृत्वबारेको धारणा तथा राष्ट्रिय राजनीतिमा एमालेको भूमिकाबारे आफ्नो योजना सार्वजनिक गर्नेछन्। एक एमाले नेताका अनुसार ओलीले ‘आम अपेक्षाभन्दा फरक विषय पनि सम्पादकहरूसमक्ष प्रस्तुत गर्ने तयारी गरेका छन्।

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अब दुई दिनपछि सुरु हुँदैछ। उद्घाटन सत्र मंसिर २७ गते भक्तपुरको तीनकुने मैदानमा तथा बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुने छ। महाधिवेशनले आगामी पाँच वर्षका लागि पार्टी नेतृत्व चयन गर्नेछ।