आगामी दुवै निर्वाचनमा नेपाली कांग्रेस सहभागी हुने
काठमाडौं । नेपाली कांग्रेसले आगामी राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको छ। शनिबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टी सहभागी हुने निर्णय गरेको हो।
बैठकपछि महामन्त्री गगनकुमार थापाले दुवै निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसलाई तत्काल निर्वाचन आयोगमा दर्ता गराउने निर्णय केन्द्रीय समितिले अनुमोदन गरेको जानकारी दिए। प्रतिनिधिसभा विघटनलाई कांग्रेसले असंवैधानिक भनेपनि यो विषयको अन्तिम टुंगो सर्वोच्च अदालतमै लाग्ने उल्लेख गर्दै चुनावमा सहभागी हुनु नै मुलुकलाई राजनीतिक निकास दिने मार्ग भएको पार्टीको निष्कर्ष बैठकले निकालेको हो।
प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनको मिति घोषणासँगै वर्तमान राजनीतिक अवस्थाबाट निष्कर्ष निकाल्ने उपयुक्त उपाय निर्वाचन नै भएको ख्यालले कांग्रेसले सहभागिताको निर्णय गरेको बताए। साथै पार्टीले सरकारलाई निर्वाचनमैत्री वातावरण निर्माण गर्न, जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता ल्याउन तथा फरार कैदीहरूलाई पुनः कारागार ल्याउन आग्रह गरेको छ।
असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक केही दिन स्थगित गरिएको भए पनि अन्ततः सहमतिसहित कांग्रेसले निर्वाचनमा सहभागी हुने निर्णय पक्का गरेको हो। महाधिवेशनसम्बन्धी विषयमा भने छिट्टै टुंगो लाग्ने प्रवक्ता महतले बताए।
