सिमरा विमानस्थलमा तनाव: जेनजीको घेराउ, कर्फ्यु आदेश जारी

तु खबर संवाददाता
२०८२ मंसिर ३, बुधबार १३:०८

काठमाडौं । बाराको सिमरा विमानस्थलमा नेकपा एमाले नेता महेश बस्नेतको विरोधमा जेनजी युवाहरूले गरेको प्रदर्शनपछि अवस्था तनावपूर्ण बनेको छ। बस्नेत युवा नागरिक अभियान कार्यक्रममा सहभागी हुन बारा जाँदैछन् भन्ने सूचना पाएपछि जेनजी समूहले ‘अवतरण नै हुन नदिने’ उद्देश्यसहित विमानस्थल घेराउ गरेका हुन्। प्रदर्शन सुरु भएपछि बस्नेतलाई लिन विमानस्थल पुगेका एमाले कार्यकर्तालाई प्रहरीले बाक्लो सुरक्षा घेरा बनाएर राखेको थियो। विमानस्थल बाहिर जेनजी र एमाले कार्यकर्ताबीच झडप समेत भएको छ।

प्रदर्शन तीव्र बन्दै जाँदा केही युवाले विमानस्थलको मुख्य गेट बाहिरबाट धकेल्दा फलामको गेट भाँचिएर प्रहरीमाथि खसेको थियो। त्यसपछि केही जना भित्र छिरे पनि प्रहरीले तत्कालै नियन्त्रणमा लिँदै बाहिर निकालेको थियो। यता, प्रदर्शन उग्र हुँदै गएपछि बारामा स्थिति नियन्त्रित गर्न स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार मध्यान्ह १२ः३० बजेदेखि बेलुका ८ बजेसम्म जीतपुर सिमरा उपमहानगरपालिकाको चार किल्लाभित्र कर्फ्यु लागू गरिएको हो। गण्डक नहरदेखि पथलैया सडकखण्ड राजमार्गको दायाँ–बायाँ ५ सय मिटर तथा सिमरा विमानस्थल वरिपरि ५ सय मिटर क्षेत्रमा कुनै सभा, जुलुस, आवतजावत तथा भीडभाड निषेध गरिएको छ।

यता, झडप र उग्र प्रदर्शनका कारण महेश बस्नेतसहित एमाले महासचिव शंकर पोखरेलसमेत सहभागी हुन लागेको कार्यक्रमका लागि बारा जाँदै गरेको टोली चढेको जहाजले काठमाडौंबाट नै उडान भरिनसकेको छ। विमानस्थल क्षेत्रमा बाक्लो रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएका छन् भने अवस्था अहिले पनि तनावपूर्ण रहेको स्थानीय प्रशासनले जनाएको छ।