एमाले विघटित संसदीय दलको बैठक आज दिउँसो
काठमाडौँ । नेकपा एमालेले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको मागलाई संस्थागत रूपले अघि बढाउन आज दिउँसो संसदीय दलको महत्वपूर्ण बैठक बस्दैछ। विघटित प्रतिनिधिसभाका सांसदहरू समेत सहभागी हुने गरी बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा दिउँसो १ बजे सुरु हुनेछ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार २७ भदौमा प्रतिनिधि सभा विघटन भएपछि पहिलोपटक एमाले संसदीय दलको यस्तो विस्तारित बैठक बस्न लागेको हो। बैठकमा संसद् विघटन विरुद्धको संवैधानिक चुनौती, दल वा सांसदले अदालत जाने विषय तथा आगामी राजनीतिक रणनीतिबारे विस्तृत छलफल हुने छ।
गत २७ भदौमा अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी २१ फागुनमा मध्यावधि निर्वाचनको मिति तोेकेका थिए। सरकारले बजेट विनियोजन गरिसकेको छ भने निर्वाचन आयोगले माघ ६ देखि उम्मेदवारी दर्ता सुरु हुने गरी कार्यतालिका तय गरिसकेको छ। मंसिर १ देखि १० गतेसम्म दल दर्ता प्रक्रिया चल्ने आयोगले जनाएको छ।
यद्यपि, नेकपा एमालेले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै पुनर्स्थापनाको माग बुलन्द बनाउँदै आएको छ। एमालेका ३२ र नेपाली कांग्रेसका ४६ जनासहित विघटित प्रतिनिधिसभाका दर्जनौं सदस्यहरूले पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरिसकेका छन्। यी दुवै दल सभामुख देवराज घिमिरेसँग निरन्तर संवादमै रहेर पुनर्स्थापनाका विषयमा सहमति निर्माणका प्रयासमा छन्।
गत २३ र २४ भदौमा जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए। प्रतिनिधिसभाबाट सरकार बन्ने अवस्था नदेखिएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा २७ भदौमा अन्तरिम सरकार गठन भएको थियो। उक्त सरकारद्वारा भएको संसद् विघटनलाई एमालेले “असंवैधानिक” ठहर गर्दै अदालतमा जाने तयारी गरेको हो। अन्य दलहरू भने तोकिएको मितिमा नै निर्वाचनमा जाने तयारीमा छन्।
आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विघटन र पुनर्स्थापनाबारे विस्तृत जानकारी दिनेछन्। साथै, देशको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको आगामी नीति तथा संगठनात्मक तयारीबारे पनि व्यापक छलफल हुने जनाइएको छ।



