निर्वाचन आयोगमा १२२ दल दर्ता, सात खारेज

तु खबर संवाददाता
२०८२ कार्तिक ३०, आईतवार १६:०९

काठमाडौं । निर्वाचन आयोगमा हाल १२२ राजनीतिक दल दर्ता भएका छन् । आयोगले आइतबार (कात्तिक ३०) पत्रकार सम्मेलनमार्फत यो जानकारी सार्वजनिक गरेको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन घोषणाको दिन पनि १२२ दल दर्ता थिए र हाल पनि सोही संख्या कायम छ। यसबीच सातवटा दल खारेज भएका छन् भने सातवटा नयाँ दलले प्रमाणपत्र पाएका छन्।

भट्टराईले भने, ‘एक दललाई सर्वोच्च अदालतको आदेशअनुसार खारेज गरिएको हो भने बाँकी छ दल नेतृत्वको आग्रहमा खारेज गरिएको हो।’ हाल २८ दल दर्ता प्रक्रियामा रहेका छन्।

भदौ २७ गते प्रतिनिधिसभा विघटन भएको थियो र फागुन २१ मा हुने निर्वाचनको मिति घोषणा भएको छ। उनले नयाँ दल दर्ताको अन्तिम मितिको विषयमा भने, दल दर्ता प्रक्रिया नियमित रूपमा चलिरहनेछ। प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा सहभागी हुनका लागि प्रमाणपत्र पाएका दलहरूले निर्वाचनमा सहभागिता जनाउन पाउनेछन्।