दुर्गा प्रसाईंको समर्थनमा ‘नागरिक बचाउ दल’ दर्ता प्रक्रियामा
काठमाडौँ । दुर्गा प्रसाईंको समर्थनमा गठन गरिएको नागरिक बचाउ दल दर्ताका लागि निवेदन निर्वाचन आयोगमा पुगेको छ। आइतबार सभापति माधव खतिवडा (माधव कल्पित) सहितका सदस्यहरू आयोगमा उपस्थित भई सनाखत गराइसकेका छन्। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान सञ्चालन गर्दै आएका प्रसाईंको यही अभियानसँग मिल्दोजुल्दो नाममा दल दर्ता प्रक्रिया अघि बढाइएको खतिवडाले जानकारी दिए।
नागरिक बचाउ दलको दर्ता नम्बर ६३० रहेको छ भने हाल २९ सदस्यीय केन्द्रीय समिति रहेको बताइएको छ। आयोगमा पठाइएको कागजअनुसार भने २७ सदस्यीय समिति प्रस्तुत गरिएको हो। पार्टीमा उपसभापतिमा ईश्वरीप्रसाद भट्टराई र देवीप्रसाद संग्रौला, महामन्त्रीमा प्रेमकुमार थाम्सुहाङ, सहमहामन्त्रीमा विष्णु बोहरा क्षेत्री, कोषाध्यक्षमा सुष्मा रेग्मी रिजाल र प्रवक्तामा प्रेम थापा मगर छन्। सभापति खतिवडाले आफू नेतृत्वमा भए पनि पार्टीको मुख्य व्यक्ति दुर्गा प्रसाईं नै रहेको स्पष्ट पारे।
मंसिर ७ गतेदेखि राष्ट्रव्यापी आन्दोलन घोषणा गरिसकेका प्रसाईंलाई सरकारले वार्ताका लागि बोलाएको छ। २७ बुँदे मागसहित प्रसाईंको नागरिक बचाउ महाअभियान आन्दोलन र आगामी निर्वाचन दुबैमा सक्रिय तयारी गर्दै अघि बढिरहेको खतिवडाले बताए। आज नयाँ दल दर्ताका लागि निवेदन दिने अन्तिम दिन हो भने भोलिदेखि मंसिर १० गतेसम्म प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ता खुला रहनेछ।



