वाम दल एकतापछि नेपाली कम्युनिस्ट पार्टी को दल दर्ता निवेदन

तु खबर संवाददाता
२०८२ कार्तिक २०, बिहीबार १२:२०

काठमाडौँ । विभिन्न १० वामपन्थी दल र समूह मिलेर गठन गरिएको नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ।बुधबार (कात्तिक १९ गते) काठमाडौँमा एकता सम्मेलनमार्फत नयाँ पार्टीको घोषणा गरेको उक्त गठबन्धनले घोषणा भएको भोलिपल्ट बिहीबार आयोगमा पुगेर दल दर्ताको निवेदन दर्ता गरेको हो।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार गठन भएको पहिलो दिनमै प्रचण्ड र सह–संयोजक माधवकुमार नेपालसहितका नेताहरूको हस्ताक्षरसहित निवेदन दर्ता गरिएको हो।दल दर्ताका लागि पेस गरिएको निवेदनमा निर्वाचन चिह्नका रूपमा पाँचकुने तारा उल्लेख गरिएको छ। यद्यपि, पार्टीका पदाधिकारी, सचिवालय र केन्द्रीय समितिका सदस्यहरूको विवरण हालको निवेदनमा समावेश गरिएको छैन।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार नयाँ दलले एकताको प्रतिबद्धता, घोषणापत्र र आवश्यक कागजातसहित निवेदन दर्ता गराएको छ। उनका अनुसार आयोगले सो निवेदन प्राप्त भइसकेको र त्यसको औपचारिक प्रक्रिया अघि बढाइएको छ।एकता प्रक्रियामा सहभागी १० वाम घटकमध्ये ६ वटा दल पहिल्यै निर्वाचन आयोगमा दर्ता भएका थिए। ती सबै दलका शीर्ष नेताहरूको हस्ताक्षरसहित नयाँ दल दर्ताका लागि निवेदन पेश गरिएको हो।

साविकका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूको एकताबाट बनेको यो नयाँ राजनीतिक दलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने तयारी गरेको जनाएको छ।निर्वाचन आयोगका अनुसार निर्वाचनमा भाग लिने सबै दलले कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्नेछ।