झाँक्रीसहित असन्तुष्ट समूह एमाले फर्किने तयारीमा

तु खबर संवाददाता
२०८२ कार्तिक १९, बुधबार १०:०५
file-photo

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका असन्तुष्ट नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राईलगायत १०० भन्दा बढी नेता–कार्यकर्ता एमालेमा फर्किने तयारीमा रहेका छन्।

झाँक्रीसहितको समूहले विनासर्त एमालेमा फर्किने निर्णय गरेको र बुधबार बिहान बबरमहलस्थित होटल बसेरामा पत्रकार सम्मेलनमार्फत औपचारिक घोषणा गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार झाँक्री समूहले एमालेमा पुनः प्रवेशको घोषणा बुधबार बिहान १० बजे गर्नेछ। बस्नेतले प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधि एमालेमा फर्किँदा हुन सक्ने कानुनी जटिलता (दलफेरसम्बन्धी कानुन, पद गुम्ने सम्भावना) का विषयमा आवश्यक कानुनी सल्लाह भइरहेको बताएका छन्।

एकीकृत समाजवादीमा असन्तुष्ट नेताहरूले पार्टी नेतृत्वमाथि पक्षपातपूर्ण मनोनयन र निर्णयमा पारदर्शिताको अभाव भएको आरोप लगाएका छन्। नेता किसान श्रेष्ठले माधव नेपाल नेतृत्वको समूहले ८० भन्दा बढी केन्द्रीय सदस्य एकल निर्णयमार्फत मनोनीत गरेर एकताको प्रक्रियामा बहुमत जबर्जस्ती देखाउन खोजेको दाबी गरेका छन्।

उता आजै दिउँसो माओवादी केन्द्रसहितका आठ दलले एकता घोषणाको तयारी गरेका छन्। सो घोषणाअघि नै झाँक्री समूहले एमाले फर्किने आह्वानसहितको घोषणा गर्ने भएको हो।