रुपन्देही–३ उपनिर्वाचनमा रास्वपाबाट डा. लेखजंग थापा उम्मेदवार

तु खबर संवाददाता
२०८२ भाद्र १५, आईतवार १९:५०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ को आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ ।

कार्यवाहक सभापति डोलप्रसाद अर्यालले थापालाई चुनाव चिन्ह ‘घण्टी’ हस्तान्तरण गर्दै उम्मेदवार घोषणा गरेका हुन् । नौ जना आकांक्षीमध्ये प्राइमरी इलेक्सन र अन्य छनोट प्रक्रियाबाट थापा अन्तिम उम्मेदवार बनेका हुन् ।

साउन ७ गतेबाट सुरु भएको उम्मेदवार छनोट प्रक्रिया विभिन्न आठ चरण पार गर्दै भदौ १५ मा टुंगिएको थियो । १२ भदौमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म भएको प्राइमरी इलेक्सनमार्फत सदस्यहरूको मतदानबाट प्राप्त ४० अंक, स्थानीय नेताहरूको मतको ५ अंक, र केन्द्रमा भएको छलफल तथा कार्ययोजनाका आधारमा दिइने ५५ अंकलाई आधार मानेर उम्मेदवार टुंगो लगाइएको रास्वपाले जनाएको छ ।

सिद्धार्थनगर–९ अञ्चलपुरमा जन्मिएका डा. थापा वरिष्ठ न्युरोलोजिस्ट तथा सामाजिक अभियन्ता हुन् । उनले एमबीबीएस, इन्टरनल मेडिसिनमा एमडी र न्युरोलोजीमा एमडी गरेका छन् । नेपाली न्युरो–साइन्सको विकास र बिरामी उपचारमा उनले १६ वर्षभन्दा लामो समय बिताएका छन् ।

थापाले मुलुकलाई सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको बाटोमा अघि बढाउने अठोटसहित राजनीतिमा होमिएको बताएका छन् । रुपन्देहीकै स्थानीय पनि रहेका उनी अब रास्वपाको तर्फबाट उपनिर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।