संविधानलाई जीवनमय बनाउन राज्य र नागरिक दुबै पक्षको प्रयास जरुरी छः प्रधानमन्त्री

तु खबर संवाददाता
२०८१ आश्विन ३, बिहीबार १५:४१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउन राज्य र नागरिक दुबै पक्षको प्रयास जरुरी रहेको बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन प्रधानमन्त्री ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेसम्म सबै दलको सहमतिमा संविधान संशोधन गरिने बताए ।

संविधान दिवस मूल समारोह समितिका अध्यक्षसमेत रहेका उनले संविधान संशोधनको प्रकृयाको क्रममा संसद्को गणितीय संख्या र सरकारमा सहभागी पार्टीहरुको मात्रै नभई सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास गर्ने प्रतिबद्धता जनाए ।

उनले थपे, ‘मेरो विचारमा संविधानको संशोधन भनेको लिखत र मर्म (लेटर एन्ड स्पिरिट) अनुसार नभएका वा बाधा पुगेको ठाउँमा परिवर्तन गर्नु हो । विद्यमान संविधानका अमिल्दा पक्षमाथि संशोधन गर्नु हो ।’

प्रधानमन्त्री ओलीले जनताका अधिकारीलाई अझ सबल र प्रभावकारी बनाउन संविधान संशोधन गर्न लागिएको स्पष्ट पारे । संविधानमा लेखिएको कुरा व्यवहारमा लागू होस् भन्ने आम नागरिकको भावनालाई कदर गर्दै यस दिवसलाई औपचारिक मात्र नभई नागरिकस्तरमा भव्यरुपमा मनाउन पनि उनले आग्रह गरे।

समाजमा अनुशासन र सामाजिक व्यवस्था तथा मर्यादाको पालनाका लागि स्मरण गराउँदै प्रधानमन्त्री ओलीले भीडतन्त्र र अराजकता लोकतन्त्र अनुकूल हुन नसक्ने उल्लेख गरे ।