आपसी सद्भावका लागि कोरियामा गोरखालीहरुको भेला हुँदै

तु खबर संवाददाता
२०८२ फाल्गुन १, शुक्रबार १३:४०

दक्षिण कोरिया । दक्षिण कोरियामा रहेका गोरखालीहरुको साझा संस्था नेपाल गोरखा परिवारले भोलि फेब्रुअरी १४ र १५ मा गोरखाली भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ । कोरियाली नागरिकहरुले नयाँ वर्षको रुपमा उत्साहपूर्वक मनाउने सलनाल पर्वको अवसर पारेर उक्त कार्यक्रम आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष देवी गौतमले जानकारी दिए ।

संस्थाको हित एवम् आपसी भाइचारा एवम् बन्धुत्वको भावना अझै मजबुत बनाउने र संस्थागत विविध कार्ययोजनाको विषयमा छलफल गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए ।

प्रवासी भूमीमा हाम्रो एकता, हरेक सुखदुःखमा साथ दिने हाम्रो प्रतिबद्धता भन्ने मूल नारासहित सन् २००२ मा स्थापना भएको नेपाल गोरखा परिवार दक्षिण कोरिया विभिन्न संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै सामाजिक कार्यमा अग्रसर भइरहेको अध्यक्ष गौतमले बताए ।

कोरियालाई कर्मथलो बनाई बसोबास गरिरहेका गोरखालीहरुको एकता र सद्भाव कायम गर्दै आइरहेको संस्थाले सबैलाई उपयुक्त हुने गरी सलनालको विदा पारेर गोरखालीहरुको बाक्लो उपस्थितिको अपेक्षा सहित सो कार्यक्रम गर्न लागिएको संस्थाका महासचिव अशोक खड्काले बताए ।