कोरियामा भोलि हुने लोकदोहोरी प्रतियोगिताको तयारी पूरा, २३ टोलीबीच प्रतिस्पर्धा

तु खबर संवाददाता
२०८३ श्रावण ३०, शनिबार १८:५४

दक्षिण कोरिया । नेपाल गोरखा परिवार दक्षिण कोरियाको आयोजनामा हुने खुला लोकदोहोरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाली मौलिक कला, संस्कृति तथा लोकदोहोरीको संरक्षण र प्रवर्द्धनसँगै सामाजिक उत्तरदायित्वलाई जोडेर आयोजना गर्न लागिएको प्रतियोगिता भोलि अगस्ट १६ मा कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा हुँदैछ।

प्रतियोगिताका लागि २३ टोली दर्ता भएको र प्रतिस्पर्धाको तालिकासमेत तयार पारिसकिएको आयोजक संस्थाका अध्यक्ष देवी गौतमले जानकारी दिए । प्रतियोगिताको तयारीका सबै काम पूरा भइसकेको र कार्यक्रमलाई व्यवस्थित तथा सभ्य रूपमा सम्पन्न गर्न आवश्यक व्यवस्थापनसमेत मिलाइएको उनले बताए।

प्रतियोगिताबाट संकलित रकम गोरखा जिल्लाका विकट तथा स्रोतसाधनको अभाव भएका शैक्षिक संस्थाको हितमा खर्च गरिने उनले बताए ।

“विदेशमा रहे पनि मातृभूमिप्रतिको जिम्मेवारीलाई निरन्तरता दिने उद्देश्यले कार्यक्रम आयोजना गरेका हौँ,” गौतमले भने, “लोकसंस्कृतिको संरक्षणसँगै शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउनु प्रतियोगिताको मुख्य उद्देश्य हो।”

दक्षिण कोरियामा रहेका नेपालीबीच आपसी एकता, सहकार्य र सामाजिक सम्बन्धलाई थप मजबुत बनाउनसमेत प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिनेछ। प्रथम हुने टोलीले ८ लाख कोरियन वन, द्वितीयले ४ लाख कोरियन वन र तृतीय हुने टोलीले ३ लाख कोरियन वन प्राप्त गर्नेछन्।

प्रतियोगिताको मुख्य निर्णायकका रूपमा गायक सूर्य खड्का रहनेछन्। प्रतियोगिताका लागि मुख्य निर्णायकको जिम्मेवारी पाएका गायक सूर्य खड्का दक्षिण कोरिया आइसकेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कोरिया शाखा र आयोजकका तर्फबाट एक–एक जना सदस्य रहने गरी निर्णायक मण्डल गठन गरिएको छ।

प्रतियोगितालाई नेपाली सम्पर्क समिति दक्षिण कोरियाले सहजीकरण गर्ने तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कोरिया शाखा र गण्डकी प्रदेश समाज दक्षिण कोरियाले समन्वय गर्ने जनाइएको छ। कार्यक्रममा नेपाली राजदूतावाससहित कोरियास्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहने आयोजकले जनाएको छ।

नेपाल गोरखा परिवार दक्षिण कोरियाका महासचिव अशोक खड्काले संस्था स्थापनाकालदेखि नै विभिन्न सामाजिक तथा परोपकारी गतिविधिमा सक्रिय रहँदै आएको बताए। यसपटकको प्रतियोगितालाई सफल बनाउन दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली समुदाय, संघसंस्था, प्रतिष्ठान, शुभचिन्तक तथा सहयोगी मनहरूलाई सहभागिता र सहयोगका लागि उनले आग्रह गरेका छन्।