जसको कोही छैन, उसका दीपक छन्
हेटौंडा । बाल्यकालमा अभाव, संघर्ष र आँसु देखेर हुर्किएका दीपक योञ्जन आज परदेशमा बसेर सयौँ विपन्न, असहाय र पीडितहरुको जीवनमा आशाको दीप प्रज्वलन गरिरहेका छन् । मकवानपुरगढी–४, मकवानपुरमा जन्मिएका दीपक अहिले कुवेत छन् । होटलमा सवारी चालकको रुपमा कार्यरत उनी सामाजिक अभियन्ताका रुपमा चिनिन्छन्।
वि.सं. २०५१ साल साउन २९ गते जन्मिएका दीपकको बाल्यकाल सहज थिएन। सामान्य जीवनयापन गर्नै कठिन थियो।आमा देवकीले मेलापात, खेतीपाती गर्दै दीपकलाई हुर्काइन् । बिरामी पर्दा उपचारका लागि गाउँ–समाजसँग हात फैलाउँदा कसैले नपत्याएको क्षणहरूले उनको मनमा गहिरो घाउ बनायो । त्यही घाउले उनको चेतनामा एकदिन म अरूको सहारा बन्नेछु भन्ने एउटा दृढ संकल्प रोप्यो ।
पारिवारिक जिम्मेवारी उठाउन १८ वर्षको उमेरमै परदेश हिँडेका दीपकले मलेसिया, साउदी अरब हुँदै पछिल्ला तीन वर्षदेखि कुवेतमा काम गरिरहेका छन्। कामको व्यस्तताबीच पनि उनले सामाजिक सञ्जाललाई माध्यम बनाएर विपन्न र पीडितहरूका लागि सहयोग संकलन गर्न थाले। क्रमशः उनको कामले विश्वास जित्दै गयो र आज उनी सामाजिक अभियन्ताको रूपमा स्थापित भएका छन्।
दीपकको पहलमा धेरैले गाँस, बास र उपचार पाएका छन्। नाङ्गा शरीरले पोशाक पाएका छन्। उपचार नपाएर छटपटाइरहेकाले जीवन पाएका छन्। उनले सन्देश प्रवाह गरिरहेका छन्, जसका कोही छैनन्, उसका लागि दीपक छन्।
४ वर्षअघि सिन्धुपाल्चोकको मेलम्चीमा आएको विनाशकारी बाढीपछि दीपकको नेतृत्वमा ‘योयो’ नामक समूह बन्यो । एकै दिनमा १ लाख ५१ हजार रुपैयाँ संकलन गरी पीडितहरूलाई खाद्यान्न, लत्ताकपडा र वासस्थान स्थानान्तरणका लागि सहयोग पठाइयो ।
त्यसैगरी, लमजुङको दोर्दी गाउँपालिका–६ स्थित भुमिस्थान प्राथमिक विद्यालयका आर्थिक रूपमा कमजोर ४२ जना बालबालिकालाई आफ्नो जन्मदिनको अवसरमा उनले न्यानो कपडा सहयोग गरे । सो विद्यालयमा शौचालय पुनःनिर्माण गरिदिए । संकलित १ लाख ३० हजार र ५५ हजार रुपैयाँ आफ्नोतर्फबाट थप गरी विद्यालयलाई सहयोग गरे ।
मकवानपुरको पदमपोखरी ठूलोथली स्थायी घर भएका जनक वाइबाले साउदी अरबमा सवारी दुर्घटनामा ठूलो शारिरिक क्षति व्यहोर्नुपर्यो । गोडा नै गुमाएका वाइवाको उपचारका लागि दीपकले २१ लाख रुपैयाँ संकलन गरेर सहयोग गरे । हाल वाइवा उपचार पश्चात नेपाल फर्कने तयारीमा छन्।
सिन्धुपाल्चोककी १४ वर्षीया डोल्मु तामाङको दुवै मिर्गौला फेल भएपछि दीपकले १५ लाख रुपैयाँ सहयोग जुटाए। हाल डोल्मुको उपचार भइरहेको छ । त्यस्तै सामूहिक कुटपिटमा घाइते भएका कुल्साङ तामाङको उपचालका लागि १ लाख २८ हजार रुपैयाँ संकलन गरी पठाइएको उनी बताउँछन् ।
साउदी अरबमा कार्यस्थलमा साउको कुटपिटबाट बच्नका लागि भाग्ने क्रममा सरिता खत्री दुई तलाबाट खसेर गम्भीर घाइते हुँदा दीपकले १ लाख १० हजार रुपैयाँ सहयोग पठाए ।
हालै नेपालमा भएको ‘जेन–जी आन्दोलन’का क्रममा घाइतेहरूको उपचार, मृतकको शव व्यवस्थापन र गौशाला प्रहरी कार्यालयका लागि खाद्यान्न सहयोगस्वरूप दीपकले १ लाख रुपैयाँ सहयोग जुटाए ।
त्यस्तै काभ्रेपलाञ्चोककी कलेजो ड्यामेज भएकी कमला तामाङको उपचारका लागि भने अझ ठूलो अभियान चल्यो। चिकित्सकले उनको उपचारको लागि ३५ देखि ५० लाख रुपैयाँसम्म आवश्यक पर्नसक्ने बताएका छन् । उनै दीपकको नेतृत्वमा १९ लाख रुपैयाँ संकलन भयो। उक्त रकम केही दिनअघि मकवानपुरगढी–४ वडा कार्यालयका जनप्रतिनिधिको रोहबरमा दीपककी आमा देवकी योञ्जनको हातबाट सम्बन्धित विरामीलाई हस्तान्तरण गरियो ।
परदेशमा सीमित आम्दानी, कामको व्यस्तता र समय अभावबीच पनि दीपक कहिल्यै थाकेनन्। उनले आफ्नै विगत सम्झिए—त्यही संघर्ष नै उनको सबैभन्दा ठूलो प्रेरणा बन्यो। आज सामाजिक सञ्जालमा उनका अनुयायीहरू बढ्दै गएका छन्। पारदर्शिता र निष्ठाका कारण दाताहरूले उनीमाथि भरोसा गर्छन्।
दीपक भन्छन्, “समस्या जो–कसैलाई, जहाँ पनि पर्न सक्छ। सबैले सानो–सानो सहयोग गरिदियौँ भने ठूलो पीडा कम गर्न सकिन्छ। सरकारले पनि दिनदुखीका लागि विशेष कार्यक्रम ल्याइदिए सहज हुनेथियो ।”
परदेशमा पसिना बगाउँदै देशका विपन्न नागरिकका लागि आशा बोकिरहेका दीपक योञ्जन आज केवल एक व्यक्ति होइनन्—उनी सहानुभूति, विश्वास र मानवताको प्रतीक बनेका छन्।




