पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

तु खबर संवाददाता
२०८२ चैत्र १४, शनिबार ०६:४२

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरस्थित गुण्डुबाट ओलीलाई प्रहरीले पक्राउ गरेको हो । जरुरी पक्राउ पुर्जी दिएर ओलीलाई पक्राउ गरिएको हो ।

रास्वपा बरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि बसेको मन्त्रिपरिषद् बैठकले गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सो निर्णयपछि सरकारले ओलीलाई पक्राउ गर्ने तयारी थालेको थियो ।

जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित सो आयोगले ओलीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियो । ज्यान सम्बन्धी कसूरको अनुसन्धानका लागि पक्राउ गर्नु परेको ओलीलाई दिइएको जरुरी पक्राउ पुर्जीमा उल्लेख छ ।