संयुक्त राष्ट्रसंघमा सम्बोधन:भोटेकोशी बाढी विश्वका लागि चेतावनी होः प्रधानमन्त्री बालेन्द्र शाह

तु खबर संवाददाता
२०८३ आश्विन ९, शुक्रबार ०६:३१
संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाह । तस्बिरः गिरिजा अधिकारी

गिरिजा अधिकारी

संयुक्त राष्ट्रसंघ मुख्यालय, न्युयोर्क

नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी विपत् विश्वका लागि चेतावनी रहेको बताएका छन् । संयुक्त राष्ट्रको महासभालाई आज सम्बोधन गर्दै उनले नेपाललाई जलवायु न्याय र अनुदानमा आधारित वित्त, पुनर्निर्माण सहयोग आवश्यक रहेको समेत बताएका छन् ।

प्रधानमन्त्री शाहले नेपालले अत्यन्त कम हरितगृह ग्यास उत्सर्जन गरेपनि जलवायु परिवर्तनबाट गम्भीर क्षति व्यहोरेको समेत बताएका छन् । हालै रसुवा भोटेकोशीमा आएको बाढीलाई चेतावनीको रुपमा प्रस्तुत गर्दै शाहले बाढीले केही मिनेटमै सडक, पुल, विद्यालय, घर, जीविकोपार्जन र विकासका उपलब्धि बगाएको उल्लेख उनले बताए ।

बाढीमा १४०० भन्दा बढीको ज्यान गएको र हजारौँ अहिलेसम्म बेपत्ता रहेको उल्लेख गर्दै नेपालका प्रधानमन्त्री शाहले जलवायु परिवर्तनले सीमा नचिन्ने बताए । नेपालमा सुरु भएको बाढीको असर चीनतर्फ र तल्लो तटीय क्षेत्रमा भारतसम्म पुगेको उल्लेख गर्दै उनले हिमालय क्षेत्रलाई साझा जलवायु तथा पारिस्थितिक प्रणालीका रूपमा बुझ्नुपर्नेमा उनको जोड थियो ।

“नेपालका लागि जलवायु विपत्ति केवल मानवीय संकट होइन, विकाससम्बन्धी आपत्काल पनि हो,” शाहको भनाइ थियो । प्रधानमन्त्री शाहले नेपाल जलवायु परिवर्तनलाई अर्को भू–राजनीतिक विवाद बनाउन नचाहेको स्पष्ट पारे।

नेपालको विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा योगदान ०.१ प्रतिशतभन्दा कम रहेको उल्लेख गर्दै उनले जलवायु परिवर्तनको मुख्य कारण नबनेका मुलुकले पनि यसको महँगो मूल्य चुकाइरहेको बताए। नेपालले अन्तर्राष्ट्रिय समुदायसँग सहानुभूति होइन, साझा जिम्मेवारी र न्यायको आधारमा सहयोग मागेको उनको भनाइ थियो।

शाहले नेपाल, भारत र चीनको नेतृत्वमा हिमालय जलवायु प्रतिरोध संयन्त्र स्थापना गर्न प्रस्ताव गरेका छन्।

उक्त संयन्त्रमार्फत उपग्रह सूचना र प्राविधिक ज्ञान साझा गर्ने, जोखिमयुक्त हिमताल तथा भूभागको निगरानी बढाउने, संयुक्त पूर्वचेतावनी प्रणाली बलियो बनाउने र विपद्का बेला समन्वित सहायता परिचालन गर्ने उनले प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री शाहले विपद्पछि सहयोग पुर्‍याउने भारत र चीनसहित अन्य मित्रराष्ट्र, संयुक्त राष्ट्रसंघीय निकाय, मानवीय सहायता संस्था, परोपकारी समूह र विश्वभरका व्यक्तिप्रति आभार व्यक्त गरे।