बाल मन्दिरको भौतिक सम्पतिको संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन

तु खबर संवाददाता
२०८१ भाद्र १६, आईतवार १७:२८
file-photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बाल सङ्गठन (बाल मन्दिर) को देशभर छरिएका भौतिक सम्पतिको पूर्ण संरक्षण गर्न निर्देशन दिएका छन् ।

सो सङ्गठनका पदाधिकारसँग आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।

उनले बाल मन्दिरको जे जति जमिन, भवन र सम्पत्ति छन् ती सबैको पूर्ण सुरक्षाका लागि आवश्यक परे कठोर कदम पनि चालिनुपर्ने बताए ।

उनले भने, “बाल मन्दिरका जग्गामा अरुले अतिक्रमण गरेको वा नियम बमोजिम भाडा सम्झौता नगरी बसेको छ भने कडाइ र तीव्रताका साथ तिनको नियन्त्रण र प्रयोग हुनुपर्छ ।’’

सङ्गठनको नयाँ विधान स्वीकृतिका लागि मन्त्रिपरिषदमा प्रस्ताव ल्याउन, सङ्गठनको जिम्मामा रहेका बालबालिकालाई सन्तुलित भोजन, उचित लत्ताकपडा र माया ममता र गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिँदै त्यसमा सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।