नेपाली क्रिकेटर मगरले फेयर ब्रेक इन्भिटेसनल २०२२ खेल्ने

तु खबर संवाददाता
२०७८ मंसिर १८, शनिबार १६:२६

काठमाडौं । नेपाली क्रिकेटर सीता राना मगरले महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेसनल–२०२२ खेल्ने भएकी छन् । नेपाली राष्ट्रिय टोलीकी उप–कप्तान राना मगरले हङकङमा हुने उक्त प्रतियोगिता खेल्ने भएकी हुन् । हालै मात्र टी–२० महिला विश्वकपको एसिया छनोट खेलेर आएकी उनले केही दिनको आराम पछि तयारीमा जुट्ने बताइन् । उनले २००७ मा राष्ट्रिय टोलीबाट डेब्यू गरेकी थिइन् ।

मगरलाई एजेन्सी सेवा प्रदान गरेको क्विन्स इभेन्ट मेनेजमेन्टका अनुसार प्रतियोगितामा उनी कुन टोलीबाट खेल्ने भन्ने निर्णय आयोजक आफैंले गर्नेछ । फेयर ब्रेक इन्भीटेसनल, अन्तर्राष्ट्रिय क्रिकेट परिषद्बाट मान्यता प्राप्त महिला टी–२० क्रिकेट प्रतियोगिता हो । १ देखि १५ मेसम्म हङकङमा हुने प्रतियोगितामा ६ टोलीले भाग लिनेछन् । भारतकी हर्मप्रित कौर, पाकिस्तानकी सना मिर जस्ता चर्चित खेलाडीहरुको सहभागिता सुनिश्चित भइसकेको छ ।