ऐरीको आक्रामक ब्याटिङपछि विश्वकपमा स्कटल्याण्डविरुद्ध नेपालको सान्तवना जीत
उपकप्तान दीपेन्द्र सिंह ऐरीको आक्रमक अर्धशतकका कारण नेपालले जारी टी २० विश्वकपमा सान्तवना जीत हात पारेको छ । नेपालले १२ वर्षपछि विश्वकपमा पहिलो जीत निकालेको हो । ऐरीको आक्रमक व्याटिङका कारण नेपाल स्कटल्याण्डलाई ७ विकेटले पराजित गर्न सफल भएको हो ।
सन् २०१४ मा बंगलादेशमा विश्वकपमा डेब्यु गर्दा हङकङ र हफगानिस्तानलाई पराजित गरेको नेपालले त्यसयता कुनै पनि खेलमा जीत निकाल्न सकेको थिएन बरु नेपालले ६ खेलमा हार व्यहोरेको थियो । समूह चरणबाटै विश्वकपबाट बाहिरिसकेको नेपालले आज भएको खेलमा भने जीत निकालेको हो ।
स्कटल्याण्डले दिएको १७१ रनको लक्ष्यलाई नेपालले जम्मा १९।२ ओभरमा ३ विकेट गुमाएर पूरा पूरा गरेको हो । ऐरीले अर्धसतकको योगफल जोड्दा कुशल भुर्तेलले ४३ र आसिफ शेखले ३३ रन योगदान गरे ।
कुशल भुर्तेल भने अर्धसतक नजिक पुगेर आउट हुन पुगे । स्कटल्याण्डका खेलाडी लिस्कले लगातार विकेट निकालेपछि नेपाल केही समय खेलमा दबाबमा परेको थियो ।
विश्वकपमा लगातार अर्धसतक प्रहार गर्ने खेलाडी बनेका ऐरीलाई गुलशन झाको राम्रो साथ थियो । झाले अविजित २४ रन बनाए ।
नेपालका लागि चार बलरले विकेट लिन नसकेपछि कप्तान रोहित पौडेलले आफैँ बलिङ गर्दै दशौँ ओभरको अन्तिम बलमा ओपनर जर्ज मुन्सेलाई सन्दिप जोराबाट क्याचआउट गराएका थिए ।
सोमपाल कामीले विकेट लिएपछि नेपालले लगायत विकेट लिन सफल भएको थियो । १६ औँ ओभरमा कामीले दुई विकेट लिए । उनी टी २० विश्वकपमा नेपालका लागि सबैभन्दा बढी ९ विकेट लिने खेलाडी भए । यस अघि यो रेकर्ड ऐरीको नाममा थियो । उनले ८ विकेट लिएका थिए । कुशल भुर्तेलले एक विकेट लिए भने नन्दन यादवले दुई विकेट लिए ।
