टी-२० विश्वकप २०२६: लगातार तेस्रो हारपछि नेपालको यात्रा समूह चरणमै समाप्त

तु खबर संवाददाता
२०८२ फाल्गुन ३, आईतवार १५:१५

काठमाडौं ।आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाल दुई पटकको च्याम्पियन वेस्ट इन्डिजसँग ९ विकेटले पराजित हुँदै सुपर-८ दौडबाट बाहिरिएको छ। भारत र श्रीलंकामा संयुक्त रूपमा जारी आईसीसी टी-२० विश्वकप २०२६मा नेपालले लगातार तेस्रो हार बेहोरेसँगै समूह चरणमै यात्रा टुंग्याएको हो।

आइतबार भारतको मुम्बईस्थित वानखेडे रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३३ रन बनायो। खराब सुरुवातसँगै नेपाल ४.१ ओभरमै ३-१७ को अवस्थामा पुगेको थियो भने पावर प्लेमा २२ रनमै ३ विकेट गुमायो।

उपकप्तान दीपेन्द्रसिंह ऐरीले ४७ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५८ रन बनाएर नेपाललाई प्रतिस्पर्धात्मक स्कोरमा पुर्‍याए। सातौँ विकेटका लागि दीपेन्द्र र सोमपाल कामीबीच ५४ रनको महत्वपूर्ण साझेदारी भयो। सोमपाल २६ रनमा अविजित रहे।

१३४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १५.२ ओभरमै १ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। कप्तान शाई होप ६१ रन र शिमरोन हेटमायर ४६ रनमा अविजित रहे। नेपालका लागि नन्दन यादवले एक मात्र विकेट लिए। वेस्ट इन्डिजका जेसन होल्डरले ४ विकेट लिए भने अकिल होसेन, म्याथ्यु फोर्ड, शमार जोसेफ र रोस्टन चेसले १-१ विकेट लिए।

यो जितसँगै वेस्ट इन्डिज तीन खेलमा अपराजित रहँदै ६ अंकसहित समूह ‘सी’को शीर्ष स्थानमा पुगेर सुपर-८मा स्थान बनाउने पहिलो टोली बनेको छ। नेपाल भने लगातार तीन हारपछि अंकविहिन रहँदै सुपर-८ दौडबाट बाहिरिने दोस्रो टोली बन्यो। यसअघि समूह ‘बी’बाट ओमान बाहिरिसकेको छ।

समूह ‘सी’मा अब इंग्ल्यान्ड ४ अंकसहित दोस्रो स्थानमा छ भने स्कटल्यान्ड र इटाली २-२ अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन्। नेपालले समूह चरणको अन्तिम खेल मंगलबार स्कटल्यान्डविरुद्ध खेल्नेछ, जुन खेल नेपालका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ।