आजदेखि राष्ट्रिय फुटबल लिग शुरू, १७ टिम उपाधि दौडमा

तु खबर संवाददाता
२०८२ पुष ३०, बुधबार १०:०७

काठमाडौं । राष्ट्रिय फुटबलको महाकुम्भ मानिने ‘राष्ट्रिय फुटबल लिग’ आजदेखि शुरू हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको लिगको उद्घाटन खेलमा काँक्रेविहार स्पोर्टस क्लब र फ्रेन्ड्स क्लब आमनेसामने हुनेछन् ।

काठमाडौं र ललितपुरका दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा सञ्चालन हुने लिगमा कूल १३६ खेल हुने एन्फाले जनाएको छ । यस संस्करणको लिगमा १७ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

लिगको विजेताले ५० लाख रुपैयाँ, उपविजेताले २५ लाख र तेस्रो हुने टोलीले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, फेयर प्ले (अनुशासित) टिमलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ । हरेक खेल जितेबापत टोलीले २० हजार रुपैयाँ प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

राष्ट्रिय लिगको च्याम्पियन टोलीले एएफसी क्लब च्याम्पियनशिप खेल्ने अवसर पाउनेछ । प्रतियोगितामा सहभागी प्रत्येक टोलीले कम्तीमा २३ र बढीमा ४० खेलाडी अनुबन्ध गर्न सक्ने प्रावधान छ ।

लिगमा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब, न्यूरोड टिम (एनआरटी), लालिगुराँस युवा क्लब, चित्लाङ एफसी, नव जनजागृति क्लब, काँक्रेविहार स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ मस्र्याङ्दी क्लब, संकटा क्लब, फ्रेन्ड्स क्लब, एपीएफ क्लब, प्लानिङ ब्वाइज क्लब र श्री भगवती क्लब सहभागी छन् ।

शीर्ष ‘ए’ डिभिजन लिग पछिल्लो साढे दुई वर्षदेखि हुन नसकिरहेको अवस्थामा त्यसको विकल्पका रूपमा एन्फाले राष्ट्रिय लिग आयोजना गरेको हो । यद्यपि, अधिकांश क्लबले छोटो तयारी समय र समयमै खेलाडी उपलब्ध नहुँदै प्रतियोगिता खेल्नुपर्ने अवस्था रहेको छ ।