आईसीसी पुरुष टी-२० विश्वकप २०२६ आजदेखि सुरु

तु खबर संवाददाता
२०८२ माघ २४, शनिबार १४:२०

काठमाडौँ ।मुम्बईस्थित आइकोनिक वानखेडे स्टेडियमबाट आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को औपचारिक सुरुवात आज हुँदैछ। संगीत, र नृत्य सहितको भव्य उद्घाटन समारोहपछि साविक विजेता भारत र अमेरिका बीच उद्घाटन खेल हुनेछ।

भारत र श्रीलंकाको संयुक्त आयोजनामा सुरु हुन लागेको यो विश्वकप भारतका पाँच शहरका पाँच स्टेडियम र श्रीलंकाका दुई शहरका तीन मैदानमा आयोजना हुनेछ। प्रतियोगितामा कुल २० टोली सहभागी छन् र ५५ खेल खेलाइने तालिका छ।

उद्घाटन समारोह नेपाली समय अनुसार साँझ ६:१५ बजे सुरु हुनेछ। समारोहमा सांगीतिक प्रस्तुति, विश्वकप ट्रफीको आकर्षक प्रवेश र विभिन्न कलाकारहरूको प्रस्तुति रहनेछ। आईसीसी अध्यक्ष जय शाह र पूर्व भारतीय कप्तान रोहित शर्माले ट्रफीको स्वागत गर्दै विश्वकप औपचारिक रूपमा सुरु भएको घोषणा गर्नेछन्। त्यसपछि साँझ ७:१५ बजे भारत र अमेरिकाबीच उद्घाटन खेल सुरु हुनेछ।

पहिलो दिन आज तीन खेल हुनेछन्। श्रीलंकाको कोलम्बोस्थित एसएससी मैदानमा पाकिस्तान र नेदरल्यान्ड्सबीच बिहान सवा ११ बजे उद्घाटन खेल हुनेछ। भारतमा भने कोलकाताको इडेन गार्डेनमा समूह ‘सी’ का स्कटल्यान्ड र वेस्ट इन्डिज दिउँसो सवा ३ बजे प्रतिस्पर्धामा उत्रनेछन्।

विश्वकपका खेल भारतमा अहमदाबादको नरेन्द्र मोदी स्टेडियम, कोलकाताको इडेन गार्डेन, दिल्लीको अरुण जेट्ली स्टेडियम, मुम्बईको वानखेडे स्टेडियम र चेन्नइको एमए चिदम्बरम स्टेडियममा हुनेछन्। श्रीलंकामा कोलम्बोको आर. प्रेमादासा स्टेडियम र एसएससी मैदान तथा क्यान्डीको पालकेले क्रिकेट स्टेडियममा खेल सञ्चालन हुनेछ।

नेपाल यसपटक समूह ‘सी’ मा रहेको छ। समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन्। नेपालले समूह चरणका आफ्ना चारै खेल मुम्बईको वानखेडे स्टेडियममा खेल्नेछ। नेपालले आइतबार दुई पटकको च्याम्पियन इंग्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। अन्तिम समूह खेल स्कटल्यान्डसँग फेब्रुअरी १७ मा हुनेछ।

समूह चरणपछि शीर्ष दुई टोली सुपर-८ मा पुग्नेछन्। सुपर-८ का खेल फेब्रुअरी २२ देखि सुरु हुनेछन्। सेमिफाइनल मार्च ४ र ५ मा तथा फाइनल मार्च ८ मा हुने तालिका छ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम रहेका छन।