घरेलु भूमिमा ३२ वर्षपछि विश्वकप खेलेको अमेरिकाको शानदार शुरुआत

तु खबर संवाददाता
२०८३ जेष्ठ ३०, शनिबार २०:०४

विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको आफ्नो पहिलो खेलमा आयोजक अमेरिकाले प्रभावशाली प्रदर्शन गर्दै पाराग्वेमाथि ४–१ गोलको सानदार जित हासिल गरेको छ।

अमेरिकास्थित लस एन्जलस स्टेडियममा समूह ‘डी’ अन्तर्गत सम्पन्न खेलमा घरेलु टोली अमेरिकाले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गरेको थियो। अमेरिकाका लागि फ्लोरिन बालोगनले दुई गोल गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए।

खेलको सातौँ मिनेटमै पाराग्वेका डामिन बोबाडिलाले आत्मघाती गोल गरेपछि अमेरिकाले अग्रता बनाएको थियो। त्यसपछि बालोगनको दुई गोलको मद्दतमा अमेरिका पहिलो हाफ सकिँदा ३–० ले अघि रह्यो।

दोस्रो हाफको ७३औँ मिनेटमा पाराग्वेका माउरिसियो मागाल्हासले एक गोल फर्काउँदै खेलमा फर्किने संकेत गरे पनि त्यो पर्याप्त बन्न सकेन। खेलको अन्तिम मिनेटमा जियोभानी रेनाले थप एक गोल गर्दै अमेरिकाको जितलाई ४–१ मा सुनिश्चित गरे।

यो अमेरिकाले विश्वकप इतिहासमा एकै खेलमा गरेको सबैभन्दा धेरै गोलको कीर्तिमानसमेत बनेको छ।

सन् १९९४ पछि पहिलो पटक घरेलु भूमिमा विश्वकपको उद्घाटन खेल खेलेको अमेरिकाले विजयी सुरुआतसँगै समूह ‘डी’ मा तीन अंक जोड्दै शीर्ष स्थान कब्जा गरेको छ। यस समूहमा अमेरिका र पाराग्वेसहित अस्ट्रेलिया र टर्की रहेका छन्।