नेकपा नेता खड्काको निधन
बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य बोम खड्काको निधन भएको छ ।
धुर्कोट गाउँपालिका १ स्थित घरमा सुतिरहेका खड्कालाई मंगलबार राति १ बजेतिर अचानक रिंगटा लागेपछि उपचारको लागि तम्घास अस्पतालमा ल्याउँदै गर्दा उनको २ बजे निधन भएको हो ।
२०२३ साल असारमा धुर्कोट गाउँपालिका १ नयाँगाउँमा जन्मेका खड्का सानैदेखि राजनीतिमा सक्रिय थिए । गुल्मीको विद्यार्थी राजनितीबाट उदाएका खड्का राजनीतिक तथा सामाजिक दृष्टिले उचाईमा पुगेका थिए । ०३८ साल भन्दा अगाडी देखिनै रेसुङ्गा बहुमुखी क्याम्पसमा नेकपा माले निकट विद्यार्थीहरुको संगठनमा आवद्ध भई संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेले ।
०४१ सालमा नेकपा मालेको जिल्ला कमिटी सदस्य भए । ०४९ सालमा मालेकै जिल्ला कमिटी उपसचिव भए । त्यसपछि नेकपा एमाले भइसकेपछि संगठन विभाग प्रमुख हुँदै एमालेकै जिल्ला अध्यक्ष भए ।
पछिल्लो समय उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य तथा गुल्मी निर्वाचन क्षेत्र नं. २ का इन्चार्जको जिम्मेवारीमा थिए । नेता खड्काका श्रीमती दिलशोभा पुन सँगै एक छोरा र एक छोरी छन् ।
