युक्रेन-रुस युद्धको चार वर्ष : महासचिव गुटेरेसद्वारा तत्काल युद्धविरामको आह्वान

तु खबर संवाददाता
२०८२ फाल्गुन १२, मंगलवार ०८:३७
संयुक्त राष्ट्र संघ फोटो/म्यानुअल एलियास

न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेन रुस  युद्ध सुरु भएको चार वर्ष पुगेको अवसरमा एक विशेष वक्तव्य जारी गर्दै तत्काल र बिना सर्त युद्धविरामको लागि आग्रह गरेका छन् ।

आज फेब्रुअरी २३ मा न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयबाट जारी वक्तव्यमा उनले यस युद्धलाई मानवताको सामूहिक चेतनामा लागेको एक ुकलंकु को रूपमा चित्रण गरेका छन् ।

महासचिव गुटेरेसले २४ फेब्रुअरी २०१२ बाट सुरु भएको यो आक्रमण संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको सरासर उल्लंघन भएको उल्लेख गरेका छन् । युद्ध जति लम्बिँदै गयो, त्यति नै घातक बन्दै गएको र यसले क्षेत्रीय मात्र नभई अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई नै जोखिममा पारेको गुटेरेसको धारणा छ ।

पछिल्लो तथ्याङ्कप्रति चिन्ता व्यक्त गर्दै महासचिवले सन् २०२५ मा युक्रेनमा सबैभन्दा बढी सर्वसाधारणको ज्यान गएको जानकारी दिएका छन् । युद्धको सबैभन्दा ठूलो मार सर्वसाधारणले भोगिरहेका छन्, जुन पूर्णतया अस्वीकार्य छ, वक्तव्यमा भनिएको छ। उनले युक्रेनमा जारी मानवीय क्षति रोक्न अन्तर्राष्ट्रिय समुदायलाई थप सक्रिय हुन समेत आग्रह गरेका छन् ।

शान्ति स्थापनाका लागि महासचिवले ठोस मार्गचित्र प्रस्तुत गर्दै भनेका छन् कि न्यायोचित र स्थायी शान्तिका लागि संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको पालना अनिवार्य छ। उनले युक्रेनको स्वतन्त्रता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्दै न्यायपूर्ण समाधान खोजिनुपर्नेमा पनि जोड दिएको जारी विज्ञप्तीमा उल्लेख छ ।