राष्ट्रिय टोलीकी कप्तान साम्बाको उपचार केएमसीले निःशुल्क गर्ने

तु खबर संवाददाता
२०८२ फाल्गुन १२, मंगलवार ०६:४३
फोटो क्रेडिट एन्फा ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी साम्बाको घुँडाको उपचार काठमाडौँ मेडिकल कलेजले निशुल्क गर्ने भएको छ।

केही समयअघि कतारको अस्पतालमा घुँडाको शल्यक्रिया गराएकी साम्बाको ग्राफ्ट र एमसिएल मा पुनः गम्भीर समस्या देखिएपछि दोहोर्‍याएर शल्यक्रिया गर्नुपर्ने अवस्था आएको थियो। उपचारका लागि करिब ८० हजार अमेरिकी डलर खर्च हुने भएपछि साम्बाले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेकी थिइन्।

साम्बाको स्वास्थ्य अवस्था र आर्थिक सहयोगको अपिलप्रति ध्यानाकर्षण भएको जनाउँदै केएमसीले एक प्रेस विज्ञप्ति जारी गरी उनको निशुल्क उपचार गर्ने जनाएको हो ।

राष्ट्रको गहनाका रूपमा रहेकी खेलाडी साम्बाले नेपालमै उपचार गर्न चाहेमा केएमसीले सम्पूर्ण उपचार सेवा निशुल्क उपलब्ध गराउनेछ, जारी विज्ञप्तीमा भनिएको छ सामाजिक उत्तरदायित्व र राष्ट्रप्रतिको कर्तव्य बोध गर्दै अस्पतालले यो निर्णय लिएको जनाएको छ। अस्पतालले उत्कृष्ट एवं अत्याधुनिक उपकरण र दक्ष चिकित्सकहरूद्वारा गुणस्तरीय उपचार प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

अस्पतालका प्रशासन प्रमुख नारायण प्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, राष्ट्रिय महिला फुटबल टिमकी कप्तान साम्बाको उपचार प्रक्रियाको गम्भीरतालाई मध्यनजर गर्दै राष्ट्रको गहनाको उपचारप्रति जिम्मेवार र संवेदनशील रहेको जानकारी गराइन्छ।ु

सात हप्तादेखि चोटका कारण मैदान बाहिर रहेकी साम्बाले आफूले कतारमा उपचार गर्न चाहेको र त्यसका दागि सहयोग उपलब्ध गराउन सरकारलाई आग्रह गरेकी थिइन् ।