लोकतान्त्रिक खेलकुद संघ मकवानपुरद्वारा विष्टलाई नगदसहित सम्मान

तु खबर संवाददाता
२०७८ कार्तिक ६,शनिबार १५:०४

मकवानपुर । नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अञ्जन विष्टलाई नगदसहित सम्मान गरेको छ । संघले शनिबार हेटौंडामा एक कार्यक्रम गरी विष्टलाई रु २५ हजार नगदसहित सम्मान गरेको हो । गत हप्ता माल्दिभ्समा सम्पन्न १३ आंै साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाललाई पहिलो पटक उपविजेता बनाउँन उत्कृष्ट भूमिका खेलेको भन्दै संघले विष्टलाई सम्मान गरेको हो ।

अन्जनलाई कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका संसदीय दलका नेता एवम् कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले उक्त नगद रकम हस्तान्तरण गरेका हुन् । सो क्रममा नेता बानियाँले नेपाली कांग्रेस नेपालको खेल क्षेत्र र खेलाडीको विकासका लागि सधै तत्पर रहेको बताए । उनले अञ्जनलाई बधाई दिँदै यस किसिमका सम्मानले आगामी दिनमा देश र गृह जिल्ला मकवापनुरको नाम उच्च राख्न प्रेरणा मिलोस् भनि शुभकामना व्यक्त गरे ।

संघका जिल्ला अध्यक्ष सविन भट्टाचार्यको सभाध्यक्षता भएको कार्यक्रममा अञ्जनका बुवा राजु विष्टलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सन्त चेपाङ, नेपाली कांग्रेस मकवानपुरका सल्लाहाकार भरत पराजुली, जिल्ला सदस्य एवम खेकुद विभाग प्रमुख सुनिल दाहाल, जिल्ला सदस्य सुशान्त श्रेष्ठ, सुनिल अधिकारी, क्षेत्रिय सभापति यतीराज सापकोटा निवर्तमान नगरसभापति आनन्दराम पराजुली, नेविसंघका अध्यक्ष राजु खतिवडा, संघका उपाध्क्ष सर्मिला श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।