नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापालाई पार्टीको नयाँ सभापतिमा निर्विरोध निर्वाचित गरेको छ। केन्द्रीय कार्यसमितिले थापालाई निष्कासन गरेलगत्तै विकसित राजनीतिक घटनाक्रमका बीच विशेष महाधिवेशनले उनलाई नेतृत्वको जिम्मेवारी सुम्पिने निर्णय गरेको हो।
यसैगरी, विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति पदमा चयन भएका छन् भने महामन्त्रीको जिम्मेवारी गुरु घिमिरे र प्रदीप पौडेलले पाएका छन्।
महाधिवेशनले आठ जना सहमहामन्त्रीहरूलाई पनि निर्विरोध निर्वाचित गरेको छ। जसअनुसार डिला संग्रौला पन्त (महिला), उदयशमशेर राणा (खस आर्य), मुक्ता कुमारी यादव (मधेसी), प्रकाश रसाइली ‘स्नेही’ (दलित), बहादुर सिंह लामा (आदिवासी जनजाति), फरमुल्लाह मन्सुर (मुस्लिम), योगेन्द्र चौधरी (थारू) र कर्ण बूढा (पिछडिएको क्षेत्र) सहमहामन्त्रीमा चयन भएका छन्।
थापा अध्यक्ष चयन हुनुपूर्व सभापति शेर बहादुर देउवा पक्षले गगन थापा, विश्व प्रकाश शर्मा, फरमुल्लाह मंसुरलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको घोषणा गरेको छ ।
साथै, यी पदाधिकारीलाई ५ वर्षको लागि कारवाही गरिएको जानकारी निर्वाचन आयोगलाई समेत पठाइएको नेपाली कांग्रेसका एक नेताले बताए ।
थापा समूहले भने कारवाहीको कुनै अर्थ नभएको बताएको छ ।
