ठमेलबाट १५ करोडको कोकेन बरामद
पेरुबाट युरोप हुँदै नेपाल ल्याइएको तीन किलो कोकेनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ८७ वर्षीय दक्षिण कोरियाली नागरिक सुक चोन ली र २८ वर्षीय भारतीय नागरिक दिपक उत्तम वाघमारे रहेका छन्। बरामद कोकेनको बजार मूल्य करिब १५ करोड रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई काठमाडौंको ठमेलस्थित एक होटलबाट पक्राउ गरेको हो। ब्युरोका अनुसार प्रारम्भिक अनुसन्धानमा दक्षिण कोरियाली नागरिक लीले दक्षिण अमेरिकी मुलुक पेरुबाट कोकेन नेपाल ल्याउने र भारतीय नागरिक वाघमारेले काठमाडौं हुँदै भारतको मुम्बई पुर्याउने गरेको खुलेको छ। यसबाट नेपाललाई अन्तर्राष्ट्रिय कोकेन तस्करीको ट्रान्जिट मार्गका रूपमा प्रयोग गरिएको देखिएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा ली एक साताअघि पेरुबाट स्पेनको म्याड्रिड हुँदै कतारको दोहा भएर काठमाडौं आएको खुलेको छ। उनी यसअघि पनि चार महिनाअघि काठमाडौं आएर तीन दिन बसेको पाइएको ब्युरोले जनाएको छ।
पक्राउ परेका भारतीय नागरिक वाघमारेसँग स्टेट रिजर्भ पुलिस फोर्स (एसआरपीएफ), मुम्बईको परिचयपत्रसमेत फेला परेको छ। प्रहरीले बरामद गरेको तीन किलो कोकेनको मूल्य प्रतिकिलो ५० लाख रुपैयाँका दरले १५ करोड रुपैयाँ कायम गरेको छ।
