स्वास्थ्य विश्वकप २०२२ घोषणा

तु खबर संवाददाता
२०७८ कार्तिक २, मंगलवार १३:५१

काठमाडौँ । आगामी विश्वकपलाई जनस्वास्थ्यका दृष्टिकोणबाट स्वास्थ्य खेल समारोह बनाउने घोषणा गरिएको छ । विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभामा यसको घोषणा भएको हो । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. तेड्रेस अदानोम गेब्रेयसुस, कतारका जनस्वास्थ्य मन्त्री डा.हनान मोहम्मद अल कुवारी, कतारी सुप्रिम कमिटी तथा लेगसीका महासचिव हसन अल–थवाडी, अन्तर्राष्ट्रिय फुटवल संघ (फिफा) का अध्यक्ष जिआनी इन्फान्टिनो र विश्व स्वास्थ्य संगठन मध्यपूर्वी क्षेत्रका संयोजक डा. अहमद विन सलेम अल–मन्धारीको उपस्थितिमा सो घोषणा गरिएको हो ।

कतार सरकार तथा विश्वकप फुटवल प्रतियोगिताका आयोजक संस्था सुप्रिम कमिटी तथा लेगसीले अन्तर्राष्ट्रिय फुटवल संघ (फिफा) संगको सहकार्यमा सबै कृयाकलापलाई जनस्वास्थ्यका दृष्टिकोणमा उपयुक्त बनाउन काम गर्नुको साथै स्वास्थ्य जीवनयापनका विषयवस्तुहरूको बारेमा विज्ञापनका माध्यमबाट बुझाउने काम पनि गर्ने बताइएको छ ।

त्यस्तै विश्वकप फुटवल प्रतियोगिता आयोजना हुने समय, आगामी वर्षको नोभेम्वर २१ देखि डिसेम्वर १८ सम्मको अवधिभर स्वास्थ्य सुरक्षा र शारीरिक तथा मानसिक स्वास्थ्यका बारेमा समेत जानकारी गराइने कार्यक्रम रहेका छन् । यो कार्यक्रम आगामी दिनमा खेलकुद सम्बन्धि ठुला कार्यक्रमहरूको आयोजना गर्दा स्वास्थ्यसंग सम्बन्धित विषयमा पुर्याउंन सकिने सुरक्षा तथा सावधानीका विषयमा पहिले नै जानकारी लिन उपयुक्त हुने विस्वास गरिएको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. तेड्रेस अदानोम गेब्रेयसुसले कतार सरकारले विश्वकप फुटवल प्रतियोगिताको समयमा जनस्वास्थ्यको विषयमा मध्यनजर गर्दै चालेको कदमलाई स्वीकार गर्दै कतार सरकारलाई धन्यवाद दिए । उनले भने, ‘‘विश्व स्वास्थ्य संगठन कतार सरकारसंग जनस्वास्थ्यको विषयमा सहकार्य गर्न प्रतिबद्द छ ।

विश्वकप फुटवलसंगै जनस्वास्थ्यका विषयमा बुझाउन पनि यो कार्यक्रम सहयोगी सावित हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’’महानिर्देशक डा. तेड्रेसले कोरोना महामारीकै बीचमा शुरू हुन लागेको विश्वकप फुटवलले जनस्वास्थ्यका क्षेत्रमा नयाँ सम्भावनाको बाटो देखाउनेमा ढुक्क भएको तथा विश्वलेनै यस महामारीबाट छुटकारा पाउने विस्वास व्यक्त गरे ।

कतारका जनस्वास्थ्य मन्त्री डा.हनान मोहम्मद अल कुवारीले मध्यपुर्वमा विश्वकप फुटवल प्रतियोगिता आयोजना गर्ने पहिलो राज्य कतार भएकोमा गर्ववान्वित भएको बताए । उनले भने ‘‘हाम्रो चाहना अन्तर्राष्ट्रिय तथा लोकप्रिय खेल प्रतियोगिता आयोजना गर्ने मात्र नभएर कुनै उच्चस्तरीय खेलकुद प्रतियोगितालाई स्थापना नै गर्नु हो त्यसमा जनस्वास्थ्यको विषय जोडिएर आउने भएकोले हामी विश्व स्वास्थ्य सङ्गठनसँग सहकार्य गर्दै अघि बढ्न चाहन्छौं ।’’ उनले थपे, ‘‘हामी आगामी दिनमा फिफा तथा अन्य अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा यस्तै ठुला खेलकुदका कार्यक्रम आयोजना गर्दै जानेछौँ ।’’ कतारले आगामी वर्षको नोभेम्वर २१ देखि डिसेम्वर १८ सम्म विश्वकै सर्वाधिक लोकप्रिय खेलकुद प्रतियोगिता विश्वकप फुटवल प्रतियोगिताको आयोजना गर्दैछ । भने सन् २०३० मा एशियन गेमसमेत आयोजनाको तयारी गरेको छ ।