बाढीपहिरोमा परेर मृत्यु हुनेका परिवारलाई कम्तिमा २ लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले बाढीपहिरो र डुबानमा परेर मृत्यु भएका परिवारलाई कम्तिमा २ लाख रुपैयाँ दिने गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकले एक जनाको मृत्यु भएको परिवारलाई २ लाख रुपैयाँ र सोही परिवारका थप सदस्यको मृत्यु भएमा मृतक प्रति सदस्य थप एक लाख रुपैयाँका दरले आर्थिक सहयोग दिने निर्णय गरेको हो ।
सिंहदरबारमा बसेको उक्त बैठकले सो निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार, बैठकले घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय गर्नुका साथै राहत र उद्धारको कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय गरेको छ । यस्तै, गृहमन्त्री बालकृष्ण खाँणले बैठकको निर्णयअनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने जानकारी दिए । घर निर्माणका लागि जग्गाको अभाव भएकालाई थप ३ लाख पनि उपलब्ध गराइनेछ । यस्तै, विपद् व्यवस्थापन समितिको तर्फबाट घरबारविहीन भएकाहरुलाई तत्काल ५० लाख पनि उपलब्ध गराउने निर्णय भएको छ ।
सरकारले यसअघि माल्दिप्समा सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरुलाई जनही ५/५ लाख रुपैयाँका दरले उपलब्ध गराउने र फुटबल टिमका प्रशिक्षकहरुलाई पनि प्रोत्साहनस्वरुप ३/३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । नेपाल ३० बर्षको इतिहासमा पहिलो पटक साफ च्याम्पियनको फाइनलमा पुगेको थियो । शनिवार सम्पन्न फाइनल खेलमा भारतसँग ३–० गोल अन्तरले पराजित भएको नेपाल उपविजेतामै सिमित बन्न पुगेको हो । भारतले यससँगै ८ औँ पटक साफ च्याम्पियनसिपको उपाधि हात पारेको छ ।