विश्वव्यापी अराजकता चिर्न बहुध्रुवीय सन्तुलन आवश्यकः महासचिव गुटेरेस

तु खबर संवाददाता
२०८२ माघ १५, बिहीबार १९:३४
फाइल तस्बिरः मार्क गार्टेन / संयुक्त राष्ट्रसंघ

न्युयोर्क । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले वर्तमान विश्वमा बढ्दो दण्डहीनता र भू-राजनीतिक विभाजनले निम्त्याएको अस्थिरताप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

नयाँ वर्षका प्राथमिकताहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भौतिक विज्ञानको ‘न्युटनको तेस्रो नियम’ लाई उदाहरणको रूपमा प्रस्तुत गरे । महासचिवले विश्वमा भैरहेका गैरजिम्मेवारपूर्ण कार्यहरूले खतरनाक र अनियन्त्रित प्रतिक्रियाहरू जन्माइरहेको र यसले अन्तर्राष्ट्रिय कानुन तथा बहुपक्षीय संस्थाहरूलाई कमजोर बनाएको बनाएको बताए ।

महासचिवले प्रविधि र जलवायु परिवर्तनलाई आजको समयका दुई प्रमुख चुनौतीका रूपमा चित्रण गरे। शक्तिको केन्द्र सरकारबाट निजी प्रविधि कम्पनीहरूमा सरेको प्रति संकेत गर्दै गुटेरेसले कुनै नियमन र सुरक्षा घेरा बिना चल्ने प्रविधिले नवाचारको साटो अस्थिरता निम्त्याउने खतरा रहेको बताए। त्यस्तै, पृथ्वीको तापक्रम वृद्धिले प्रकृतिमा भयानक र विनाशकारी प्रतिक्रियाहरू सुरु गरिसकेको भन्दै उनले अब कोरा गफभन्दा पनि उत्सर्जनमा ठूलो कटौती र खनिज इन्धनबाट नवीकरणीय ऊर्जातर्फको न्यायोचित रूपान्तरण अनिवार्य रहेको बताएका छन् ।

विश्वको बदलिँदो आर्थिक शक्ति सन्तुलनलाई ध्यान दिँदै महासचिवले ८० वर्ष पुराना संस्थागत संरचनाहरूमा तत्काल सुधार गर्नुपर्नेमा जोड दिए। उनका अनुसार अबको विश्व कुनै एक वा दुई शक्तिको इसारामा मात्र चल्न सक्दैन, बरु यसका लागि समावेशी ‘बहुध्रुवीय प्रणाली’ आवश्यक छ। विकासोन्मुख देशहरूको ऋण संकट समाधान गर्न र आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा समान पहुँच पुर्‍याउन ३ अर्ब डलरको कोष स्थापना गर्ने योजना पनि महासचिवले अघि सारेका छन्।

महासचिव गुटेरेसले बहुध्रुवीय विश्वमा सन्तुलन र सुधार गर्ने अन्तर्राष्ट्रिय कानुन र दण्डहीनताको अन्त्य गर्ने, जलवायु परिवर्तन र महत्वाकांक्षी लक्ष्य, विश्वव्यापी वित्तीय संरचनामा परिवर्तन लगायतका विषयहरु २०२६ को प्राथमिकता रहेको बताएका छन् ।

त्यस अवसरमा महासचिव गुटेरेसले पत्रकारहरुले सोधेका विभिन्न प्रश्नहरुको जवाफ दिएका थिए ।

आफ्नो कार्यकालको अन्तिम चरणमा रहनुभएका गुटेरेसले सिद्धान्तहरू नै वास्तविक भएको स्मरण गराउँदै विश्व शान्ति र न्यायका लागि हार नमान्ने दृढता दोहोर्याएका छन् ।