परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरुथिशामबीच भेटवार्ता

तु खबर संवाददाता
२०८३ आश्विन ६, मंगलवार २३:२०
तस्बिरः राजन काफ्ले/ खसोखास ।

न्यूयोर्क । संयुक्त राष्ट्रसंघ महासभाको क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरुथिशाम एडमसँग द्विपक्षीय भेटवार्ता भएको छ ।

राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा भएको भेटवार्तामा मन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि माल्दिभ्स सरकार र जनताले व्यक्त गरेको समवेदना, ऐक्यबद्धता तथा प्रदान गरेको मानवीय सहयोगप्रति आभार गरेको परराष्ट्र मन्त्रालय नेपालले जनाएको छ ।

भेटका क्रममा दुई परराष्ट्रमन्त्रीहरूले नेपाल माल्दिभ्स द्विपक्षीय सम्बन्ध, क्षेत्रीय तथा बहुपक्षीय विषयमा विचार आदानप्रदान गरेका थिए । नेपाल र माल्दिभ्सको पर्यटन, रोजगारी र शिक्षालगायतका क्षेत्रमा सहकार्य विस्तार गर्दै दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने उपायबारे समेत छलफल भएको छ ।

त्यसैगरी, जलवायु परिवर्तन, विकासका लागि वित्तीय स्रोत परिचालन, दिगो विकासलगायत आपसी हित र चासोका विषयमा नेपाल र माल्दिभ्सबीच सहकार्यलाई थप प्रभावकारी बनाउने आवश्यकतामा दुवै मन्त्रीहरूले जोड दिएका थिए ।

संयुक्त राष्ट्रसंघ, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लगायतका बहुपक्षीय मञ्चमा समेत साझा हितका विषयमा सहकार्य र समन्वयलाई निरन्तरता दिने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी, परराष्ट्रमन्त्री खनाल र स्लोभाक गणतन्त्रका विदेश तथा युरोपेली मामिला मन्त्री जुराज ब्लानरबीच पनि भेटवार्ता भएको छ ।

महासभामा सहभागी हुने क्रममा उनीहरुबीच साइडलाइन वार्ता भएको हो । त्यस अवसरमा नेपाल र स्लोभाक गणतन्त्रबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विविध विषय समेत छलफल भएको थियो ।

भेटका अवसरमा दुई देशबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको थियो।