युवामा लगानी र निर्णय प्रक्रियामा सहभागिता बढाउन संयुक्त राष्ट्रसङ्घको आह्वान
न्यूयोर्क – अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विश्वभरका युवाहरूको सिर्जनशीलता, गतिशीलता र नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै उनीहरूमाथि लगानी बढाउन र निर्णय प्रक्रियामा समावेश गर्न विश्व समुदायसँग आह्वान गरेका छन् ।
‘भिन्न सन्दर्भ, साझा आकांक्षा’ भन्ने नाराका साथ मनाइएको यस वर्षको दिवसका अवसरमा सन्देश जारी गर्दै महासचिव गुटेरेसले विविध पृष्ठभूमि र भूगोलका भए पनि विश्वभरका युवाहरूको समान चाहना मर्यादा, सहभागिता र अवसर नै रहेको बताए।
महासचिव गुटेरेसले वर्तमान युवा पुस्ताले भोगिरहेका प्रमुख चुनौतीहरू—विशेषगरी आर्थिक अनिश्चितता, डिजिटल पहुँचको असमानता र जलवायु परिवर्तन—कुनै एक देशमा मात्र सीमित नरही अन्तर्राष्ट्रिय स्तरका भएकाले यसको समाधानका लागि समन्वयात्मक प्रयास आवश्यक रहेको बताए। युवाहरूले नै आजका धेरै समस्याहरूको समाधानका लागि नवप्रवर्तक र आयोजकका रूपमा नेतृत्व गरिरहेको उल्लेख गर्दै उनले उनीहरूलाई अझ सशक्त बनाउन आलोचनात्मक सोच, समस्या समाधान र डिजिटल साक्षरताजस्ता भविष्य उपयोगी सीपहरूमा पहुँच दिलाउनुपर्नेमा जोड दिए।
युवाहरूलाई केवल हितग्राहीका रूपमा नहेरी समान साझेदारका रूपमा स्वीकार गरेमा मात्र जनसांख्यिकीय लाभांशको सही उपयोग हुन सक्ने संयुक्त राष्ट्रसङ्घको ठहर छ। उनले स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका नीति निर्माण र निर्णय प्रक्रियाहरूमा युवाहरूको पहुँच बढाउनुपर्ने बताए।
विश्वका युवाहरूलाई जोड्ने साझा मूल्यहरू विभाजन गर्ने तत्वहरूभन्दा बढी शक्तिशाली रहेको भन्दै सबै पुस्ताका मानिसहरू फस्टाउन सक्ने वर्तमान र भविष्यको निर्माणका लागि संयुक्त राष्ट्रसङ्घ युवाहरूको साथमा रहेको उनले भने।
